ट्राफिक नियम पालना गराउन हस्ताक्षर
ट्राफिक नियम पालना गराउन हस्ताक्षर
केशव गुरुङ
गोरखा ः सवारी नियमको पालना गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले हस्ताक्षर अभियान थालेको छ ।
आइतवारबाट सवारी चालक, सहचालक र धनीलाइ ट्राफिक नियम पालना गर्ने प्रतिवद्धता सहित हस्ताक्षर संकलन शुरु गरेको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागी अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रमुख सुक बहादुर बिकले बताए । ‘साना ठुला गरी सबै भाडा तथा नीजि सवारीका चालक र धनीलाइ प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाएका छौ,’ उनले भने, ‘प्रतिवद्धता अनुसार काम नगरे कारवाही गर्छाै ।’ हस्ताक्षर गरिएको पत्रमा सवारी साधनका चालक तथा धनीले मादक पदार्थ सेवन गरी सवारी चलाउने छैनौ, छत तथा ढालामा यात्रु राख्ने छैनौ, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने छैनौ भन्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै सवारी चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिहरुलाई सवारी साधन चलाउन दिने छैनौ र सधै ट्राफिक नियमको पालन गर्ने छौ र ट्राफिक नियम उल्लघंन गरेमा कानून अनुसार कडा कारवाही भोग्न तयार छौ भन्ने प्रतिवद्धता सहित हस्ताक्षर गरेको ट्राफिक प्रमुख बिकले जानकारी दिए ।
‘आरुघाट, घ्याम्पेशाल, नयाँसाघु, ठाटीपोखरी, बाह्रकिलो र मझुवा देउराली गरी ६ वटा अस्थायी ट्राफिक प्रहरी पोष्टमा अभियान शुरु भइरहेको छ, दुई हप्ता सम्म अभियान चल्छ,’ उनले भने ।