समुन्द्रसम्म नेपालको इन्टरनेट केबुल बिछ्याउन अध्ययन थालिँदै
समुन्द्रसम्म नेपालको इन्टरनेट केबुल बिछ्याउन अध्ययन थालिँदै
नेपालले समुन्द्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न योजना बनाएको लामो समय बित्यो । अब बल्ल नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि अध्ययन थाल्न लागेको छ ।
आफ्नो देशभित्रको इन्टरनेटलाई आफ्नै सूचनाको अन्तराष्ट्रिय महामार्गबाट ल्याउने योजना अनुसार प्राधिकरणले यस्तो अध्ययन गर्न लागेको हो । प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म बिछ्याउने योजनाको सम्भाब्यता अध्ययन गर्न ५ वटा कम्पनीलाई ‘छनोट सूची’ मा राखेको स्रोतले बतायो । अब कम्पनीहरुको आर्थिक प्रस्ताव मूल्यांकन गरेर एउटा छनोट गरिनेछ । हाल नेपालले भारत र चीनका विभिन्न ४ वटा नाकाबाट इन्टरनेट भित्राइरहेको छ । भारतसँगको भैरहवा, वीरगञ्ज र विराटनगर नाका तथा चीनसँगको रसुवागढी नाकाबाट इन्टरनेट भित्रिरहेको छ । समय–समयमा भारत र चीनतर्फ प्राकृतिक विपत्ति पर्दा नेपालमा इन्टरनेट सेवा प्रभावित हुने गर्छ । सार्वभौम मुलुकका हिसाबले पनि नेपालले समुन्द्रसम्म इन्टरनेटको आफ्नो पहुँच स्थापना गर्न अधिकार राख्छ । त्यसैलाई मध्यनजर गरेर सरकारले योजना अघि बढाएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । यसले नेपाल आउने इन्टरनेटको विश्वसनीयता र गुणस्तर पनि सुधार्न सकिने अपेक्षा सरकारको छ ।