७५ प्रतिशत नीजि आवास पुननिर्माण सम्पन्न
७५ प्रतिशत नीजि आवास पुननिर्माण सम्पन्न
गोरखा ः हाल सम्म जिल्लामा करिव ७५ प्रतिशत नीजि आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ ।
कुल लाभग्राही मध्य ५३ हजार १२० जनाले अनुदान रकमको तेस्रो किस्ता लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । पुननिर्माण र प्रवलिकरण तर्फ गरी हाल सम्म लाभग्राहीको संख्या ७१ हजार १६२ रहेको इकाइ प्रमुख रामशरण आचार्यले बताए । जसमध्य ६५ हजार ८०९ जना पुननिर्माण र ५ हजार ३५३ प्रवलिकरण तर्फ रहेका छन् । लाभग्राही मध्य पुननिर्माण तर्फ ६३ हजार ५ सय र प्रवलिकरण तर्फ एक हजार ८१७ जनासँग सम्झौता भइसकेको आचार्यले जानकारी दिए । ‘पुननिर्माण तर्फ ५९ हजार ३९६ जनाले दोस्रो किस्ता लगिसक्नुभएको छ,’ उनले भने, ‘प्रवलिकरण तर्फ दोस्रो किस्ता लाने ५२ जना मात्र हुनुहुन्छ ।’ ५३ हजार ८७ जना लाभग्राहीले पुननिर्माण तर्फ अनुदानको तेस्रो किस्ता पाएका छन् । प्रवलिकरण तर्फ तेस्रो किस्ता लिनेको संख्या ३३ रहेको इकाइको तथ्याङ्कमा उल्लेख छ । ‘प्रवलिकरण वाहेकको तथ्याङ्क हेर्ने हो भने नीजि आवास पुननिर्माणको सम्पन्न भएको प्रतिशत करिव ८५ हो तर प्रवलिकरणको संख्यालाइ पनि जोड्ने हो भने करिव ७५ प्रतिशत हुन्छ,’ उनले भने ।
५ हजार ८४५ ले गरेनन् सम्झौता
कुल लाभग्राही मध्य ५ हजार ८४५ जना भूकम्पपीडितले अनुदान रकमको सम्झौता गरेका छैनन् । सरकारले सम्झौताका लागी यही असार २१ गतेसम्म समयसिमा तोकेको थियो । तर उनीहरु सम्झौता गर्न नआएको प्राधिकरणले जनाएको छ । ‘स्थानीय निकायबाट सम्झौता भएर आएका लाभग्राहीहरुको निकासा असार मसान्त सम्म निरन्तर चलिरहन्छ, त्यसैले यो संख्या घट्ने क्रममा छ,’ आचार्यले भने ।
पहिलो किस्ता लिएर दोस्रो किस्ता लिन नआउने लाभग्राहीको संख्या ५ हजार ८६९ रहेको उनले बताए । ‘उहाहरुको खातामा पहिलो किस्ताको रकम गइसक्यो तर ६ सय ७० जनाले अझै पनि पहिलो किस्ताको रकम नलिएको भन्ने जानकारी आएको छ,’ उनले भने ।
१ सय ७२ ले रकम फिर्ता गरे
एक सय ७२ जनाले अनुदान रकम फिर्ता गरेका छन् । पहिलो किस्ता लिनेमध्य २१ जनाले स्वच्छिक रकम फिर्ता गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै दोहोरो भुक्तानी लिने एक सय ४० जनाले पनि रकम फिर्ता गरेका छन् । ‘पहिलो किस्ता लिने १३९ र दोस्रो किस्ता लिने १ जनाले दोहोरो भुक्तानी लिनुभएकाले रकम फिर्ता गर्नुभएको हो,’ आचार्यले भने । अन्य ११ जनाले पनि रकम फिर्ता गरेको उनले बताए । ‘दोहोर भुक्तानी फिर्ता गर्न भनेर ४० जनालाइ पत्राचार गरेका छौ अहिले प्रक्रियामै छ,’ उनले भने । कुल ९२ लाख ५० हजार अनुदान रकम फिर्ता भइसकेको उनले जानकारी दिए । त्यस्तै २१ लाख फिर्ता गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।
गुम्वा पुननिर्माणको काम शुरु भएन
भूकम्पले क्षति पुगेका जिल्लाका गुम्वा पुननिर्माणको काम अझै शुरु हुन सकेको छैन । पुननिर्माण गर्नुपर्ने गुम्वाको संख्या ९१ रहेका छन् । तर हाल सम्म एउटा गुम्वा निर्माणका लागी मात्र सम्झौता भएको छ । त्यस्तै १३ वटा गुम्वा मर्मत गर्नुपर्ने भएपनि हाल सम्म काम शुरु भएको छैन । ‘एउटाको सम्झौता भएको छ, अरुको छैन,’ आचार्यले भने । केन्द्रबाट स्टमेट र डिजाइन नआउँदा काम शुरु गर्न नसकिएको उनले बताए । ‘पुरातात्विक सम्पदा कायम रहने गरी गुम्वा पुननिर्माण गर्नुपर्छ, माथिबाट स्टमेट र डिजाइन आउनुप¥यो अनि बल्ल काम शुरु हुने हो,’ उनले भने । रकमको अख्तियारी ढिला आउँदा यस बर्ष मर्मतको काम समेत गर्न नसकिएको उनले बताए । गुम्वा पुननिर्माण र मर्मत तर्फ यस बर्ष दुई करोड ८५ लाख रकम निकासा भएको थियो । भूकम्पले क्षति पुगेका गुम्वा पुननिर्माण र मर्मत गर्न कुल ३० करोड लाग्ने इकाइ प्रमुख आचार्यले बताए । लाभग्राही सू्रचिमा नपरेको भन्दै गुनासो फारम भरेका भूकम्पपीडितहरुको घर पुन जाँच तथा सर्वेक्षणको काम सम्पन्न भएको बताइएको छ ।