मापसे गरी सवारी चलाउने ७५ जनाको लाइसेन्समा प्वाल
मापसे गरी सवारी चलाउने ७५ जनाको लाइसेन्समा प्वाल
गोरखा ः गत आर्थिक बर्ष जिल्लामा ७५ जना सवारी चालकको लाइसेन्स प्वाल पारिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवैभन्दा बढि ४८ जना मोटरसाइकल चालकको लाइसेन्स प्वाल पारिएको ट्राफिक टिकाराम शर्माले बताए । १३ कार, ८ ट्याक्टर, ५ ट्रक र १ बसका चालकको पनि लाइसेन्स प्वाल पारिएको छ । ‘चेकजाँचको क्रममा मापसे गरेर सवारी चलाएको भेट्यौ,’ ट्राफिक शर्माले भने, ‘सवारी ऐन २०४९ को दफा ४२ अनुसार उनीहरुको लाइसेन्स प्वाल पारेर कारवाही गरेका हौ ।’ अघिल्लो आर्थिक बर्ष २०७४÷७५ मा ६३ वटा लाइसेन्स प्वाल पारिएको उनले बताए ।
७२ लाख ३० हजार राजश्व संकलन
गत आर्थिक बर्ष २०७५÷६६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले ७२ लाख ३० हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघंन गर्ने कुल १० हजार ६ सय सवारीलाइ कारवाही गर्दा उक्त राजश्व संकलन भएको हो । नियम उल्लघंन गर्ने सवारी मध्य सबैभन्दा बढि टूक देखिएको छ । ‘गत बर्ष तीन हजार ३९३ ट्रक कारवाहीमा परे,’ ट्राफिक शर्माले भने, ‘ती बाट २३ लाख ३१ हजार राजश्व उठ्यो ।’ २ हजार १८३ मोटरसाइकललाइ कारवाही गर्दा १५ लाख ३१ हजार राजश्व संकलन भएको उनले बताए । गत बर्ष २ हजार १३५ कार÷जिप÷भ्यान कारवाहीमा परेका छन् । उनीहरुबाट १४ लाख ५५ हजार राजश्व उठेको छ । १ हजार ९२६ ट्याक्टरलाइ कारवाही गर्दा १३ लाख तीन हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । बसबाट ६ लाख ९ हजार राजश्व उठेको छ । ९ सय ६३ बस कारवाहीमा परेका थिए । अघिल्लो आर्थिक बर्ष २०७४÷७५ मा कार्यालयले ७१ लाख ६० हजार राजश्व संकलन गरेको थियो । अघिल्लो बर्षको तुलनामा गत बर्ष ७० हजारले राजश्व बृद्धि भएको कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय सवारी साधनको संख्या बढेको र चेकजाँचमा कडाइ गरिएका कारण राजश्व बढेको कार्यालयले बताएको छ । कार्यालयले गत आर्थिक बर्ष विभिन्न समय र स्थानमा ७९ पटक ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको टूाफिक शर्माले बताए । उक्त कार्यक्रमबाट ६ हजार भन्दा बढि लाभान्वित भएको उनले जानकारी दिए ।
सवारी दुर्घटनामा १४ जनाको मृत्यु
गत आर्थिक बर्ष सवारी दुर्घटनामा परि जिल्लामा १४ जनाको ज्यान गएको छ । कुल ३२ वटा दुर्घटना भएको थियो । मृत्यु हुनेमा दुइ वालक र १५ जना पुरष रहेको टूाफिक कार्यालयले जनाएको छ । दुर्घटनामा ६२ जना घाइते भएका थिए ।