बन्दीपुर केबलकार : जग्गाधनीलाई केबलकारको शेयर
बन्दीपुर केबलकार : जग्गाधनीलाई केबलकारको शेयर
बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई शेयर प्रदान गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गादेखि वनको फेदीसम्मको जग्गा प्रयोग गरेबापत कम्पनीले स्थानीयवासीलाई शेयर प्रदान गरेको हो ।
केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने पाँच रोपनी जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिएको केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार ११ जना स्थानीयवासीलाई शेयरबापतको प्रवद्र्धक शेयर लगानी प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
उनका अनुसार बढी शेयर पाउनेले रु दुई लाख ५६ हजारसम्म पाएका छन् । पोल परेको जग्गालाई प्रतिआना रु एक लाख र तारमात्रै परेको जग्गालाई प्रतिआना रु ५० हजारका दरले मूल्याङ्कन गरी शेयरमा रुपान्तरण गरिएको शर्माले बताए । शर्माका अनुसार एक जनालाई पनि रु एक लाख ४५ हजार नगद नै हस्तान्तरण गरिएको छ ।
केबलकार कम्पनीमा २२५ जना स्थानीयवासीले शेयर हालिसकेका छन् । स्थानीयवासीबाट केबलकार निर्माणका लागि करीब रु तीन करोड शेयर सङ्कलन भएको शर्माले जानकारी दिए। केबलकार निर्माणका लागि बन्दीपुर गाउँपालिकाले रु ५० लाख शेयर हालेको छ । “स्थानीयवासीका लागि रु १३ करोडका शेयर छुट्याएका थियौँ, अहिलेसम्म रु तीन करोड शेयर सङ्कलन भएको छ”, शर्माले भने, “स्थानीयवासीमा शेयरको आकर्षण बढिरहेको छ । अहिले पनि धेरैले चासो देखाइरहनुभएको छ ।”
by ratopati