क्याम्पसको जग्गा मिचेर प्लटिङ
क्याम्पसको जग्गा मिचेर प्लटिङ
गोरखा ः गोरखा नगरपालिका–५ हिलेपोखरीमा गोरखा क्याम्पसको जग्गा मिचेर प्लटिङको काम भइरहेको छ ।
करिव आठ आना जग्गा मिचिएको भन्दै गोरखा क्याम्पसले आपत्ति जनाएको छ । जिल्लाका केही व्यक्तिहरु मिलेर सो क्षेत्रको करिव ११ रोपनी जग्गामा प्लटिङको काम गरिरहेका छन् । तर प्लटिङको नाममा उनीहरुले जवजस्ती क्याम्पसको जग्गा मिचेपछि विवाद भएको छ । ‘हाम्रो जग्गा मिचेर काम गरिरहेका छन् तर हामीसँग केही सरसल्लाह पनि गरेका छैनन, न जानकारी गराएका छन्,’ क्याम्पस प्रमुख बिकास कुमार श्रेष्ठले भने, ‘त्रिभुवन विश्व विद्यालयको सम्पत्तिमा बलमिच्याइ गर्न कहाँ पाइन्छ !’ मिचिएको जग्गा फिर्ता गर्नुपर्ने क्याम्पसको माग छ । प्लटिङ गर्नेले जग्गा मिचेका मात्र छैनन्, सडक स्तरोन्तीको क्रममा निर्माण भएका नाला र ‘रिर्टनिङ वाल’ पनि भत्काएका छन् । गोरखा नगरपालिका वडा नम्वर ५ र ७ को सिमानामा लगाइएको रिर्टनिङ वाल र नाला भत्काएर क्याम्पसको जग्गा मिच्दै उनीहरुले सडक खनेका हुन् । वडा नम्वर ७ को ३० लाख र गण्डकी प्रदेशको ६० लाख बजेटले नयाँ बजारको हिमचुली बचत तथा ऋण सहकारी संस्था देखि गोरखा क्याम्पस हुदै मधुपानी सम्मको सडक स्तरोन्नतीको क्रममा सो क्षेत्रमा पर्खाल लगाइएको थियो । विना जानकारी पर्खाल भत्काएपछि वडा नन्वर ७ ले काम रोकिदिएको छ । ‘त्यहा नजिकै खोला थियो, त्यही खोलाको पानी बग्न र पहिरो जान नदिन नाला र पर्खाल बनाएका थियौ, तर हामीलाइ थाहा नै नदिइ भत्काएर बाटो खनेछन्,’ वडा नम्वर ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले भने । पर्खाल र नाला भत्किदा करिव एक लाख रकम बराबरको क्षति भएको वडा कार्यालयले जनाएको छ । ‘‘हामीले अहिले काम रोकिदिएका छौ, क्षतिपूर्ति तिर्नुपर्छ, वडामा सम्पर्क राख्न भनेका छौ,’ उनले भने । वडा कार्यालयसँग अनुमति लिएर पर्खाल भत्काएको प्लटिङ गर्नेहरुको भनाइ छ । ‘५ नम्वको वडा कार्यालयमा निवदेन दिएर अनुमति लिएपछि पर्खाल भत्काएर प्लटिङको जग्गालाइ सम्याउने बाटो मात्र लगेका हौ,’ प्लटिङ गर्ने मध्यका एक राजेन्द्र श्रेष्ठले भने, ‘वडा नम्वर ७ ले काम गरेको रहेछ त्यो चाही हामीलाइ थाहा भएन ।’ ७ नम्वर वडालाइ भने जानकारी नगराएको उनले बताए । पर्खाल भत्काए पनि क्याम्पसको जग्गा नमिचिएको उनको दावी छ । ‘क्याम्पसको जग्गा मिचेका छैनौ, अमिन ल्याएर नाप गरेर जग्गा मिचेको भए फिर्ता गर्छाै,’ श्रेष्ठले भने । वडा नम्वर ५ को अनुमतिमा पर्खाल भत्काएको बताएपनि छलफल गरेर मात्र काम गर्न भनेको वडाले जनाएको छ । ‘पर्खाल भत्काउन अनुमति दिएको हैन, सबैसँग छलफल गरेर सहमती भएपछि मात्र भत्काउनु भनेको थिए,’ वडाध्यक्ष राम कुमार थापा मगरले भने । निर्माण भएको पर्खाल र नाला भत्काएको भन्दै स्थानीयले पनि चिन्ता व्यक्त गरेका छन् । ‘लगाइसकेको पर्खाल भत्काउन हुन्थेन, अव सबै पानी सडकमा आउँछ, अनि सडक बिगार्छ,’ स्थानीय नारायण वावु श्रेष्ठले भने।