दोर्दी खोलामा बाढी : ज्यान गुमाएकामध्ये २ जनाको पहिचान, बेपत्ताको खोजी कार्य जारी
दोर्दी खोलामा बाढी : ज्यान गुमाएकामध्ये २ जनाको पहिचान, बेपत्ताको खोजी कार्य जारी
लमजुङ – दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीले बगाएर ज्यान गुमाएका चार जनामध्ये दुई जनाको परिचय खुलेको छ ।
दोर्दी गाउँपालिकामा रहेको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर बाढी आउँदा जलविद्युत आयोजनाका कामदारहरुलाई बाढीले बगाएको हो । बाढीले बगाएर ज्यान गुमाएका चार जनाको शव बुधबार बेलुका फेला परेको थियो ।
फेला परेको चार जनाको शव मध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । अहिलेसम्म पर्साका शिवधन चौधरी र डडेल्धुराका रमेश बुढाको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
बाढीमा परेर अझै ७ जना हराइरहेका छन् । उनीहरु सबैजना दोर्दी जलविद्युत आयोजनाका कामदार हुन् । उनीहरुको खोजी कार्य भैरहेको छ ।
बाढीमा परेर घाइते भएका ८ जनाको जिल्ला अपतालमा उपचार भैरहेको छ । ठूलो पहिरो आएर थुनिएको दोर्दी खोला एकैपटक खुलेपछि बाढी आएको अनुमान गरिएको छ । बाढीका कारण दोर्दी कोरिडरमा निर्माणाधीन जलविद्युत आयोजनाका सामान पनि बगाएको छ । उज्यालोअनलाइनबाट