६७ जनाले गरे आत्महत्या
६७ जनाले गरे आत्महत्या
गोरखा ः गत आर्थिक बर्ष जिल्लामा ६७ जनाले आत्महत्या गरेका छन् । अघिल्लो बर्षको तुलनामा यो संख्या बढेको हो ।
अघिल्लो आर्थिक बर्ष २०७४÷७५ मा ४७ जनाले आत्महत्या गरेका थिए । तर अघिल्लो बर्षको तुलनामा गत बर्ष २०७५÷७६ मा २० जना बढीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत बर्ष आत्महत्या गर्ने मध्य ५५ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । बिष सेवन गरी आत्महत्या गर्नेको संख्या २० रहेको छ । २ जनाले हाम फालेर आत्महत्या गरेको उनले जानकारी दिए । अघिल्लो बर्षको तुलनामा गत बर्ष जवरजस्ती करणीका घटना पनि बढेको छ । गत बर्ष जवरजस्ती करणीमा १५ मुद्धा दर्ता भएका छन् । अघिल्लो बर्ष १२ वटा मुद्धा मात्र थिए । जवरजस्ती करणी उद्योगको संख्यामा भने केही कमी आएको छ । ‘गत आर्थिक बर्ष बालयौन दुरुपयोग भनेर ६ वटा मुद्धा दर्ता भए,’ एसपी ओम अधिकारीले भने, ‘तीन बर्ष सम्म यो शिर्षकमा कुनै मुद्धा थिएन ।’ मानव वेचविखन सम्बन्धी पनि गत बर्ष एउटा मुद्धा परेको उनले बताए । प्रहरी कार्यालय को तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा यस बर्ष वहुविवाहको संख्या भने घटेको देखिन्छ । अघिल्लो बर्ष वहुविवाहका २२ मुद्धा दर्ता भएका थिए भने गत बर्ष १२ वटा मात्र भएका छन् । गत बर्ष साधारण तथा जवरजस्ती चोरी, ठगी, आगलागी, जुवा, कालो बजार, अपहरण तथा शरिर बन्धकमा कुनै पनि मुद्धा परेनन् ।