यसरी नै काम नगर्ने ठेकेदारलाई कारवाही होस्
यसरी नै काम नगर्ने ठेकेदारलाई कारवाही होस्
काममा लापरवाही गरेको भन्दै बाह्र किलो(बारपाक सडकखण्ड निर्माण कार्यको जिम्मा पाएका मध्य नागर्जुन त्रिशुली जेभिको ठेक्का तोडियो । सडक बिभागले गरेको यो कार्य प्रशंसनिय नै छ । उक्त निर्माण कम्पनीलाइ यस अघि नै कारवाही गर्नुपर्ने थियो । काममा लापरवाही गर्ने, सम्पर्कमा नआउने र काम अलपत्र पारेर छाड्ने नागर्जुन त्रिशुली जेभि जस्ता निर्माण कम्पनीलाइ कारवाही गर्न सरकार चुक्नु हुदैन । होइन भने बिकास निर्माणको कामले अपेक्षा अनुसारको फड्को मार्न सक्दैन ।
जिल्लामा भइरहेका अन्य बिकास निर्माणका कामहरुमा पनि निर्माण कम्पनी र ठेकेदारको लापरवाही प्रष्ट देखिन्छ । कामको जिम्मा लिने तर समयमै काम नसक्ने, योजनाहरु अलपत्र छाड्ने र सम्पर्क विहीन हुने प्रवृति जिल्लामा हावी हुदै छ । यसको प्रमुख कारण लापरवाही गर्ने निर्माण कम्पनी र ठेकेदारलाइ कारवाही नहुनु । कतिपय सम्बन्धित कार्यालयको ठेकेदार सँगै मिलेमतो पनि हुने गरेको छ । अनि कारवाहीमा चुक्नुपर्ने बाध्यता । जसका कारण काम नगर्ने ठेकेदारले प्रश्रय पाउने नै भए । जिल्लाको विकास निर्माणमा महत्वपुर्ण भूमिका खेल्ने धेरै योजनाहरु सरकारको फितलो अनुमगनका कारण अलपत्र अवस्थामा छन् । काम नगर्ने निर्माण कम्पनीलाइ बारम्वार म्याद थप हुन्छ तर कारवाही हुदैन । पहुँचवाला र राजनितिक प्रभावमा परेर बिकास निर्माणको ठेक्का दिनु हुदैन । कमिसनको खेलमा लाग्नेहरुको पनि कमी छैन जिल्लामा । यस्तो गलत प्रवृतिको अन्त्य हुनु पर्छ ।
ढिलै भएपनि कारवाहीको सुरुवात भएको छ । यसले निरन्तरता पाउनु जरुरी छ । यसरी नै काममा लापरवाही गर्ने ठेकेदार र निर्माण कम्पनीलाइ कारवाही गर्न सरकारले खुट्टा नकमाउने हो भने पक्कै नै जिल्लाको बिकासले फड्को मार्ने थियो की !