लुइटेल भञ्ज्याङ भच्चेक सडकखण्डको दुर्दशा ः ७० करोड खर्चेर गरिएको कालोपत्रे एक महिनामै भत्कियो
लुइटेल भञ्ज्याङ भच्चेक सडकखण्डको दुर्दशा ः ७० करोड खर्चेर गरिएको कालोपत्रे एक महिनामै भत्कियो
गोरखा ः ७० करोड खर्चेर कालोपत्रे गरिएको लुइटेल भञ्ज्याङ सडकखण्ड एक महिना नबित्दै भत्किएको छ ।
लुइटेलगाउँ देखि चित्रेपोखरी सम्मको पहिलो खण्ड अन्तरगत पर्ने सडक ठाउँठाउँमा भासिएको स्थानीयले बताएका छन् । ‘सडक बनाएको एक महिना पनि भाको छैन भत्किन थालिसक्यो,’ सिरानचोक गाउँपालिका–३ ठानीस्वाँराका स्थानीय इश्वर लम्सालले भने, ‘कतै भासिने कतै लच्किने भएको छ, ठेकेदारले कस्तो काम ग¥यो खै !’ उक्त सडकखण्ड अन्तरगत पर्ने सिरानचोक गाउँपालिका वडा नम्वर ३ र ४ को बिभिन्न ठाउँमा सडक भत्किएको उनले बताए ।‘चिउरीबोटमा ग्याभिन वाल नै भत्किएर सडक भासिएको छ, सबैभन्दा बढि भत्किएको यही हो,’ स्थानीय अशोक गुरुङले भने । भत्किएको सडकमा सवारी आवागमनमा समेत समस्या भएको उनले बताए । चिउरीबोट मात्र होइन थुम्की र साततलेमा समेत सडक भत्किएको र ठाउँठाउँमा ‘ग्याभिन वाल’ वगाएको स्थानीयले गुनासो गरेका छन् ।
भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तरगत एशियाली विकास वैंकको ७० करोड र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइटेल भञ्ज्याङ देखि भच्चेक सम्मको करिव ३० किलोमिटर सडक कालोपत्रे भएको हो ।
दुइ खण्डमा बिभागन गरी ठेक्का लगाइएको उक्त सडकको पहिलो खण्डको काम लामा अमर जेभी कन्स्ट्रक्शनले पाएको थियो । पहिलो खण्ड अन्तरगत १७.६ किमि सडक पर्छ । उक्त सडक कालोपत्रेका लागी ४० करोड ४१ लाखमा ठेक्का सम्झौता भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ गोरखाले जनाएको छ । १२.९७ किलोमिटरको दोस्रो खण्डका लागी २९ करोडमा लामा कन्स्टूक्सन सँग ठेक्का सम्झौता भएर काम भएको इकाइका इन्जिनियर शैलेन्द्र भट्टले बताए ।
दोस्रो खण्ड भन्दा पहिलो खण्डमा बढि समस्या आएको स्थानीयले बताएका छन् । ‘ग्याभिन वाल पनि गतिलो लगाएको छैन, ठाउँठाउँमा पहिरिएर सडक भासिएको छ, नाला पुरिएको छ । कालोपत्रे पनि देख्नको मात्रै छ, गाडीले ब्रेक लगायो भने भत्किएला जस्तो,’ पालुङटार नगरपालिका–४ का स्थानीय सुन्दर बिश्वकर्माले भने । ठेकेदारले काममा लापरवाही गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।
‘सडक बनाउन भनेर घर उक्लिने सिढी भत्काइदिए, अहिले सिढी पनि हाल्देनन्, घर उक्लिनै समस्या छ,’ सिरानचोक गाउँपालिका–३ सापकोटा गाउँका स्थानीय मिठुराम दमाइले भने । घरै अगाडी काम अधुरो गरेको ठानीस्वाँराका हर्मीका टेक बहादुर नेपालीको गुनासो छ ।
‘खोपिल्टो छ, ठाउँठाउँमा भासिएको छ, नाली पनि गतिलो बनाएको छैन, नाली छुने गरी कालोपत्रे गरदेउ भन्दा पनि मानेनन्,’ उनले भने । अनुगमनका लागी आएको टोलिले पनि राम्र्ररी अनुगमन नगरेको उनले गुनासो गरे ।राष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार बिकास इकाइका गोरखा प्रमुख रामशरण आचार्यले भत्किएको सडक मर्मतका गर्न ठेकेदारलाइ भनिसकेको बताए । ‘ठेकेदारालाइ ओर्क अडर दिइसकेका छौ, मर्मतको काम भइरहेको छ,’ उनले भने । सिरानचोक गाउँपालिका(३ चिउरीबोटमा गएको पहिरो हटाउने काम भोली बाट शुरु हुने उनले दावी गरे ।
पहिरोका कारण दुइ साता देखि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प छ । यातायात ठप्प हुदा स्थानीयले समस्या भोग्नुपरेको छ । उक्त सडकखण्डबाट पालुङटार नगरपालिका, सिरानचोक र अजिरकोट गाउँपालिकाका स्थानीय लाभान्वित छन् । तर गुणस्तरीय काम नभएपछि स्थानीय चिन्तित देखिन्छन् ।