गोरखामा १२ वर्षीया बालिकाद्वारा झुण्डिएर आत्महत्या
गोरखामा १२ वर्षीया बालिकाद्वारा झुण्डिएर आत्महत्या
गोरखाको शहीद लखन गाउँपालिका-७ मकैपुरमा १२ वर्षीया बालिका प्रशान्ता श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
परिवारका अनुसार प्रशान्ता बुधबार विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
‘बिहान करिव ७ बजे डोरी बोकेर लगेको बहिनीले देखेकी रहिछ, किन लगेको भन्दा पिङ खेल्न भनेर कोठाभित्र ढोका लगाएर प्रशान्ता बसिछिन्,’ वडानम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले भने, ‘पछि बहिनीले झ्यालबाट हेर्दा दिदी झुण्डिएको देेखेपछि आमालाई खबर गरिछिन् ।’ थाहा पाएपछि परिवारले कोठा खोलेर डोरी काटेका थिए । तर, त्यस बेलासम्म प्रशान्ताको मृत्यु भइसकेको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएका छन् । मृतक श्रेष्ठको शवलाई आमाले काखमा लिएर बसेको र अरुकसैलाई छुन नदिएको स्थानीयले बताएका छन् ।
श्रेष्ठ गाउँकै न्यू होराइजन बोर्डिङमा कक्षा ५ मा अध्ययनरत थिइन् ।