आज चट्याङ र भारी वर्षाको सम्भावना छ, होसियारी अपनाउनू : मौसमविद्
आज चट्याङ र भारी वर्षाको सम्भावना छ, होसियारी अपनाउनू : मौसमविद्
आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाकाे हुने सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरो जाने तथा भूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने सम्भावना देखिएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले बुधबार बिहान जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ- देशको केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ। मध्य र पूर्वी नेपालका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तीन दिनयता मनसुन न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) आफ्नो औसत स्थान (दक्षिण भारत)बाट केही उत्तर नेपालतर्फ सरेकाले यहाँ मनसुनी गतिविधि बढेको हो।
तर मंगलबार राति परेको तथा आज पर्ने पानी भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले हो।
‘मध्य र पूर्वी क्षेत्रमा बंगाल खाडीबाट आएको जलवाष्पयुक्त हावको प्रभाव छ,’ नेपालखबरसँग उनले भने, ‘पश्चिमतिर भने न्यून चापीय रेखाको पनि प्रभाव छ।’
उनका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले सामान्य बदली छ। दिउँसोपख मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको उनले बताए। by nepalkhabar