जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर
जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर
ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरामा ल्याएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७६-७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ तोकिएको छ ।
अनसुची–८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा शनिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ ।
भूइँमा सामान विच्छ्याएर बेचेवापत पनि २० रुपैयाँ तोकिएको छ । डोकोमा फलफूल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्नेछ । नगरले बनाएको ब्लकमा राखेर बिक्री गर्नेलाई एक सय रुपैयाँ तोकेको छ ।
रागाको मासु बेचेवापत प्रतिगोटा २ सय र सुँगुरको १ सय ५० रुपैयाँ कर लाग्नेछ ।
नगरपालिका क्षेत्रमा अस्थायी रूपमा घुम्ती व्यवसाय गर्नेलाई पनि कर तोकेको छ । १ गाडी सामान बिक्रीवापत २ हजार तथा घुम्ती व्यापार प्रतिदिन (पोके व्यापारी) लाई २ सय तोकिएको छ ।पक्की घर ६ सय र टाटीले बनेको टिन वा फुसको छाना भएका घरधनीले एक सय रुपैयाँ तिर्नुपर्नेछ ।
यसैगरी भूमि कर (मालपोत) अन्तर्गत मुख्य बजार, सहायक बजार र अन्य क्षेत्र गरी वर्गीकरण गरी कर तोकिएको छ । मुख्य बजार क्षेत्रमा ४ आनासम्म ५० रुपैयाँ र १ रोपनीमाथिका प्रतिरोपनी ६० रुपैयाँ तोकिएको छ । धनीपूर्जामा अलैंचीबारी उल्लेख गरिएको भए प्रतिरोपनी २५ रुपैयाँ उल्लेख छ ।
आर्थिक वर्ष २०७५-७६ को सम्मको राजस्व पुस मसान्तसम्म तिर्न आएमा जरिवाना छुट हुने अन्यथा प्रतिवर्ष १० प्रतिशतका दरले वक्यौता रकममा जरिवाना लाग्ने उल्लेख गरिएको छ । by https://www.karobardaily.com/news/economy/22945