गोरखा र नुवाकोटमा पुनर्निर्माणका लागि भारतले दियो २.४५ अर्ब
गोरखा र नुवाकोटमा पुनर्निर्माणका लागि भारतले दियो २.४५ अर्ब
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ ।
दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र दुई देशबीच देखिएका समस्या समाधान गर्न संयुक्त आयोगको बैठक बसेको हो ।बैठकमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन् भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका छन् । काठमाण्डौको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतिमा भएको बैठकमा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।
बैठकका क्रममा भारत सरकारले नेपाललाई भूकम्पपछिको पुनर्निमार्णका लागि २ अर्ब ४५ अर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराएको छ । दुई देशका परराष्ट्र मन्त्रीको उपस्थितिमा भारतीय राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई चेक हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले उपलब्ध गराएको त्यो रकम गोरखा र नुवाकोटमा पुनर्निमाणका लागि खर्च गरिनेछ । भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ ।
त्यस्तै भारत सरकारले तराई भेगका सडक स्तरोन्नतिका लागि ८० करोड भारतीय रुपैयाँ पनि उपलब्ध गराएको छ । यस्तै नेपाल भारत बीच खाद्यबस्तु तथा तरकारी लगायतका बस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ ।
भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरुले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरि गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्य बस्तु तथा उपभोग्य सामग्री सीमा नाकामा परीक्षण गर्नु गराउनु पर्दैन । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबारसम्म चल्नेछ ।