जोखिम वस्ती स्थानान्तरणमा ढिलाइ नगर
जोखिम वस्ती स्थानान्तरणमा ढिलाइ नगर
भूकम्पका कारण पहिरोको जोखिममा रहेका वस्ती स्थानान्तरणको काममा ढिलाइ भइरहेको छ । कामको सुरुवात त भएको छ, तर तिव्रता पाउन सकेको छैन ।
ज्यानको बाजी थापेर जोखिम वस्तीमा भूकम्प पीडितहरु बसिरहेका छन् । स्थानान्तरणमा ढिलाइ हुदा जुन सुकै बेला विपद निम्तिन सक्ने खतरा छ ।
घटना भइसकेपछि पछुताउनु भन्दा वेलैमा सर्तकता अपनाउन सके सार्थक हुने छ ।
केही दिन अघि मात्र बारपाकको रुतुकमा पहिरोले १२ घर जोखिममा पा¥यो । बर्षाको समय भएकाले ठाउँठाउँमा पहिरो गइरहेकै छ ।घरहरु पहिरोको जोखिममा परेका छन् । भूकम्प र त्यसपछिको पहिरोका कारण उत्तरी क्षेत्रका धेरै वस्ती जोखिममा छन् । जोखिममा परेका केही घरधुरी स्थानान्तरण भएपनि अझै धेरै घरधुरी स्थानान्तरण हुन बाकी छ । उनीहरुको यथाशिघ्र स्थानान्तरण हुनु आवश्यक छ ।
भौगोलिक अवस्था अनुसार जिल्लामा पहिरोको बढि जोखिम छ । जुन सुकै वेला विपद पर्नसक्छ तर पूर्व तयारी छैन । विपदको समयमा उद्धारमा पनि त्यस्तै समस्या छ । जसका कारण विपदको समयमा हुने क्षतिलाइ न्यूनिकरण गर्न कठिन हुने गर्छ ।
तर यसो भन्दैमा विपदबाट हुने क्षतिलाइ न्यूनिकरण गर्न असम्भव छ भन्ने चाही होइन । आवश्यक पूर्व तयारी र सचेत रहने हो भने विपदलाइ रोक्न नसकेपछि त्यसबाट हुने क्षतिलाइ न्यूनिकरण गर्न अवश्य सकिन्छ ।
त्यसैले एक त जोखिम वस्ती स्थानान्तरणमा सरकारले तदरुपताका साथ काम गर्नुपर्छ । अर्कातर्फ जिल्लामा निम्तिन सक्ने विपदबाट बच्न पूर्व तयारी जरुरी छ ।सँगै नागरिक आफै पनि सचेत रहेर सरकारको भरमा मात्र नपरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउनु आवश्यक छ ।