जिससको बजेट २० करोड २६ लाख
जिससको बजेट २० करोड २६ लाख
गोरखा ः जिल्ला समन्वय समिति गोरखाको चालु आर्थिक बर्ष २०७६÷७७ को बजेट २० करोड २६ लाख ८६ हजार रहेको छ ।
बिभिन्न शिर्षक अन्तरगत उक्त रकम प्राप्त भएको जिसस सभापति अशोक कुमार गुरुङले बताए । केन्द्रिय अनुदान (निशर्त चालु अनुदान) तर्फ एक करोड २५ लाख ७६ हजार रकम प्राप्त भएको उनले जानकारी दिए । जिसस मौज्दात कोष प्रशासनिक खर्च वापत गत आवको मौज्दात रकम ३ लाख ७ हजार रहेको आइतवार सार्वजनिक गरिएको बार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
गरिवसँग बिश्वेश्वर कार्यक्रम, जिल्ला समन्वयकर्ता तलव÷चाडपर्व खर्च शिर्षकका लागी २ लाख ९९ हजार रकम प्राप्त भएको छ । जिल्ला समन्वयको मौज्दातकोष कार्यक्रमका लागी १८ करोड ८४ लाख ३ हजार रकम अख्तियारी आएको छ ।
चालु आवमा गण्डकी प्रदेश सरकारबाट ५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका लागी ६ लाख बजेट प्राप्त हुने गुरुङले बताए । तर हाल सम्म उक्त रकमको अख्तियारी नआएको उनले जानकारी दिए ।
सुखी र समृद्ध गोरखा निर्माणका लागि स्थानीय तहहरुलाई मार्गदर्शन हुने गरी नीति तथा कार्यक्रम ल्याएको सभापति गुरुङले बताए ।
चालु आव गैरसरकारी संस्थाहरुको काम कारवाहीको प्रभावकारी अनुगमन गर्ने, जिल्ला भित्रका असहाय बालबालिकाको संरक्षण, पालनपोषण र सामुदायिक विद्यालयलाई गुणस्तरीय प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न स्थानीय तहसँग आवश्यक समन्वय गर्ने योजना कार्यक्रममा समावेश गरिएको छ ।
दरौदी, चेपे भुसुन्डे जस्ता नदि तथा खोलाहरुबाट नदिजन्य पदार्थको अत्याधिक उत्खनन तथा संकलनबाट दिनानुदिन वातावरण विनाश हुदै गएको र नदिको प्राकृतिक सुन्दरतामा प्रतिकुल असर पर्न जाने देखिएकोेले स्थानीय तहहरुसँगको समन्वयमा बैकल्पिक उपायको खोजी गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय विपद व्यवस्थापन समितिलाइ प्रभावकारी बनाइने, सडकको संरक्षण र भूक्षय रोकथामका लागि वृक्षरोपण गर्ने, फलफुल र तरकारीमा विषादी रहित जिल्ला बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकराले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाइ लक्षित गरी जिल्लाको धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रहरुको प्रचार प्रसार गर्ने समेत योजना जिससको छ ।