सस्तो बजारको नाममा महँगो व्यापार नहोस्
सस्तो बजारको नाममा महँगो व्यापार नहोस्
नेपाल चेम्वर अर्फ कमर्स गोरखाले यस बर्ष पनि दशैलाइ लक्षित गरी सस्तो बजार मेला गर्दै छ । चाडवाडमा आवश्यक दैनिक उपभोग्य वस्तु एकै ठाउँमा सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ मेला गर्न लागिएको आयोजकले बताउदै आएको छ ।
सस्तो मूल्यमा सामान खरिद गर्न पाउनु आम उपभोक्ताका लागी खुशीकै कुरा हो । तर सस्तो बजारको नाममा महँगोमा सामान बिक्री वितरण हुने गरेको गुनासो अघिल्लो बर्षमा आएको थियो ।
यस अघि भएको मेलाको कमजोरी पक्षलाइ सच्याउदै थप व्यवस्थित गर्नु आवश्यक देखिन्छ ।
अघिल्लो बर्षको मेलामा स्थानीय व्यापारीलाइ चेम्वर अफ कमर्सले समेट्न नसकेको आरोप लाग्यो । त्यस माथि गोरखा उद्योग वाणिज्य संघको टसल छर्लङ्ग झल्किएको थियो ।
दुई छुट्टाछुट्टै संस्था भएपनि दुवैले जिल्लाका व्यापारीहरुलाइ नै समेटेको छ । एक अर्काबिच मनमुटाव राखेर निषेधको काम गर्नुभन्दा सहमति र सहकार्यमा मेला गर्न सके थप प्रभावकारी बन्नेमा दुइ मत छैन ।
साथै सस्तो बजार भनेर सामान किन्न आउने उपभोक्ताले बाहिर भन्दा केही सुपथ मूल्यमा सामान किन्न पाउन् ।
स्टलहरुमा सकेसम्म स्थानीय व्यापारीलाइ अवसर दिनुपर्छ ।स्थानीय परिकार र उत्पादनलाइ प्रोत्साहन गर्नुपर्छ । मेलामा सामान किन्ने उपभोक्ताले सस्तो बजार भन्ने महशुस गर्न पाउन् । नाम मात्रको सस्तो मेला नबनोस् ।
अघिल्लो बर्ष भन्दा मेलालाइ थप व्यवस्थित गरेर लैजानु आवश्यक छ । साथै जिल्लाका सरोकारवालासँगको सहकार्य र समन्वयमा कुनै कसुर बाकी राख्न हुदैन । सस्तो बजार मेला सफल बनोस् ।