प्राकृतिक स्रोतमा खर्च गर्न स्थानीय सरकारको छुट्टै कोष अनिवार्य
प्राकृतिक स्रोतमा खर्च गर्न स्थानीय सरकारको छुट्टै कोष अनिवार्य
वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्न अब स्थानीय सरकारले छुट्टै कोष सञ्चालनमा ल्याउनुपर्ने भएको छ । संघीय सरकारले स्थानीय सरकारहरुलाई पठाएको स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको नमूना कानूनमा यो व्यवस्था गरिएको हो ।
उक्त कानूनअनुसार अब गाउँपालिकारनगरपालिकामा वातावरण संरक्षण, प्रदूषण रोकथाम, नियन्त्रण र जैविक विविधतामा खर्च गर्न सकिने गरी कोष स्थापना गर्नुपर्ने छ । यस्तो कोषलाई ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण कोष’ नाम दिइएको छ ।
पछिल्लो समय प्राकृतिक स्रोतको अधिक दोहनको विषयले निकै चर्चा पाइरहे पनि संरक्षणमा कुन सरकार जिम्मेवार रहने भन्ने विषय अन्यौलमै थियो । नमूना कानूनले प्राकृतिक स्रोत संरक्षण गर्न स्थानीय तहको अधिकार क्षेत्रमा राख्दै छुट्टै कोषको व्यवस्था गरेको हो । यस्तो कोषमा संघ र प्रदेश सरकारले वातावरण संरक्षणका लागि स्थानीय तहलाई दिने रकम जम्मा हुनेछ ।
यसबाहेक विभिन्न संघ(संस्थाबाट प्राप्त हुने र विविध स्रोतबाट प्राप्त रकम राखेर कोष संचालन गर्नुपर्ने प्रावधान यस ऐनले गरेको छ ।
योजना अनिवार्य
अब स्थानीय सरकारहरुले वातावरण तथा जैविक विविधता संरक्षण योजना तर्जुमा तथा कार्यान्वयन गर्नुपर्नेछ । योजना बनाउँदा वातावरण संरक्षण, जैविक विविधताको संरक्षण, प्रवर्द्धन, दीगो उपयोग तथा स्रोतको परम्परागत र स्थानीय अभ्यासलाई समेत समावेश गर्नुपर्ने प्रावधान कानूनमा समेटिएको छ ।
स्थानीय सरकारले प्राकृतिक स्रोतको दोहन गर्ने तथा वातावरण संरक्षणसम्बन्धी कानूनी प्रावधान पालना नगर्ने व्यक्तिमाथि कारवाहीको अधिकारसमेत पाएको छ ।
यसअनुसार स्थानीय सरकारको कार्यपालिकाले तोकेको समय र स्थानबाहेक अन्यत्रै फोहरमैला फालेमा, फोहोरमैला संकलन गर्ने कन्टेनर तोडफोड गरेमा, अनुमति नलिई फोहोरमैला व्यवस्थापनको काम गरेमा कारवाहीको अधिकार स्थानीय सरकारसमक्ष हुने छ ।
फोहोरबाट निस्केको दुषित पानी वा ढललाई अनय व्यक्तिको जग्गा र घरमा पठाइ प्रदुषित बनाएमा पनि कारवाही गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ ।
आइइइ नगर्ने आयोजनालाई जरिवाना
स्थानीय सरकारले कानून अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने अधिकार पाएको हुन्छ । त्यस्तो प्रतिवेदन तयार नपारी कुनै पनि आयोजना अगाडी बढे १० लाख रुपैयाँसम्म जरिवानाको प्रावधान ऐनमा समेटिएको छ । संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराउनु पर्ने आयोजनाले त्यस्तो प्रतिवेदन स्वीकृत नगरे ५ लाख रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।
व्यक्तिगत रुपमा फोहोरमैला व्यवस्थापनमा सहयोग नगर्ने व्यक्ति तथा घरलाई भने कसुरको आधारमा न्यूनतम ५ सय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारवाहीको प्रावधान ऐनले समेटेको छ ।
नदी उत्खनन्मा संघको मापदण्ड
स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतबाट ढुंगा, गिटी, वालुवा, माटोको उत्खनन्, संकलन, उपयोग, बिक्री तथा वितरणमा भने संघीय सरकारकै मापदण्ड लागू हुने भएको छ ।