‘खेलमैदानको बिवादमा कुनै राजनिति गरेका छैनौ’
‘खेलमैदानको बिवादमा कुनै राजनिति गरेका छैनौ’
गोरखा ः चेम्वर अफ कमर्सले आयोजना गरेको सस्तो बजार मेला हुने स्थल हरमटारी खेलमैदानको विवादमा आफूहरुको नाम जोडिएको भन्दै गोरखा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।
खेलमैदानमा मेला नगर्न भन्दै गोरखा जिल्ला फुटवल संघले गरेको बिरोधमा उवासंघले राजनिति गरेको चेम्वरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले आरोप लगाएका थिए ।
वुधवार सुरुवातसँग कुराकानी गर्दै उवासंघका अध्यक्ष जिवनज्योती श्रेष्ठले उक्त बिषयमा आफूहरुले कुनै चासो नलिएको बताए । ‘त्यसमा हाम्रो कुनै संलग्नता छैन, त्यो बिषयमा राजनिति गर्न खोजेका पनि छैनौ,’ उनले भने, ‘हामीलाइ अनावश्यक आरोप लगाइयो, यसमा हाम्रो आपत्ति छ ।’
मेला गर्न नहुने पक्षमा आफूहरु नरहेको बताउदै श्रेष्ठले भने, ‘मेला गर्न हुन्न भन्ने होइन तर समय सापेक्ष कार्यक्रम गर्नुपर्छ ।’ चेम्वरले आयोजना गरेको मेला व्यवसायीको हकहित विपरित भएको उनले आरोप लगाए ।
‘सस्तो मेलाको नाममा स्थानीय व्यापारीलाइ वाइपास गरेर बाहिरी जिल्लाका व्यापारीलाइ प्राथमिकता दिएको छ, यसरी स्थानीय व्यवसाय कसरी चल्छ ?’ उनले प्रश्न गरे ।
व्यवसायको हकहितका लागी नभइ नाफा कमाउने उदेश्यले मेला गर्न खाजेको श्रेष्ठले आरोप लगाए । खेलमैदानमा मेला गर्न नहुने हो भन्ने सुरुवातको प्रश्नमा उनले भने, ‘त्यो खेलकुद बिकास समितिको कुरा हो, के सहमति भएको छ त्यही अनुसार चल्नुपर्छ हामीले त्यसमा केही भन्न मिल्दैन ।’
चेम्वरले आयोजना गरेको मेलाले जिल्लाका व्यवासायी निरुत्साहित भएको समेत उनले बताए ।