सुन सहित पक्राउ परेका गुरुङ पुर्पक्षका लागी थुनामा
सुन सहित पक्राउ परेका गुरुङ पुर्पक्षका लागी थुनामा
गोरखा ः १६ किलो सुन सहित पक्राउ परेका धार्चे गाउँपालिका–१ केरौजाका धनकमल गुरुङलाइ पुर्पक्षका लागी थुनामा पठाइएको छ ।
जिल्ला न्यायधिश रमेशकान्त अधिकारीको वुधवारको इजलासले गुरुङलाइ पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको हो । गुरुङ बिरुद्ध मंगलवार अभियोग पत्र दायर गर्दै राजश्व अनुसन्धान बिभागले करिव ४० करोड भन्दा बढि जरिवाना रकम माग गरेको छ ।
‘हिजो बिभागले हामीलाई अभियोग पत्र पेश ग¥यो,’ श्रेस्तेदार विनोद प्रसाद अधिकारीले भने, ‘वयान कार्य हिजै सकियो, आज थुनछेक बहस सक्यौ, पुर्पक्षका लागी थुनामा राखेर कारवाही गर्ने श्रीमानको आदेश भयो, त्यही अनुसार आज कारागार पठायौ ।’ गुरुङ बिरुद्ध राजश्व चुहावट तथा बिदेशी बिनियम अपचलन सम्बन्धी मुद्धा दर्ता गरिएको उनले बताए ।
बिभागले पेश गरेको अभियोग पत्र अनुसार गुरुङ बिरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३ र बिदेशी बिनिमय (नियमित) गर्ने ऐन २०१९ को दफा १७ (१) र १७ (९) बमोजिम कारवाही गर्न माग गरिएको अधिकारीले जानकारी गराए ।
‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३ अनुसार सुनको बिगो रकमको दोव्वर सम्म जरिवाना र तीन बर्ष सम्म कैद हुन सक्नेछ,’ उनले भने, ‘ बिदेशी बिनिमय (नियमित) गर्ने ऐन २०१९ को दफा १७ (१) र १७ (९) मा विगो रकमको तेव्वर सम्म जरिवाना र तीन बर्ष सम्मको कैद हुन सक्ने व्यवस्था छ ।’ जफत गरिएको सुनको बिगो रकम ८ करोड ९१ लाख ६८ हजार रहेको उनले बताए ।
राजश्व चुहावटको दफा ३३ अनुसार बरामद सुन जफत गर्न पनि बिभागले माग गरेको उनको भनाइ छ । गत साउन ९ गते धार्चे गाउँपालिका–३ उहियाको ओडारमा लुकाइराखेको १६ किलो सुन सहित गुरुङ पक्राउ परेका थिए । उनलाइ थप अनुसन्धानका लागी राजश्व बिभाग कार्यालय पठाइएको थियो ।
वयानको क्रममा गुरुङले चुमनुव्री गाउँपालिकाका लोप्साङ लामाबाट सुन लिएको बताएको श्रेस्तेदार अधिकारीले जानकारी दिए । ‘पाँच हजार रकम दिएर लोप्साङले छेकम्पारबाट माछाखोला सम्म सुन लगिदिन भनेका रहेछन्, अनि उसले लिएर आएको रहेछ,’ गुरुङको वयानलाइ आधार मानेर अधिकारीले भने ।