लिगलिगकोट–गोरखा दरवार म्याराथनको उपाधी आरुघाटका गुरुङलाई
लिगलिगकोट–गोरखा दरवार म्याराथनको उपाधी आरुघाटका गुरुङलाई
‘लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगीताको उपाधी आरुघाट गाउँपालिका थुमीका भिम बहादुर गुरुङले जितेका छन् । पूर्व नेपाली सेना समेत रहेका गुरुङले ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको निर्धारित दुरी पार गरेका हुन् । १ सय १३ जना प्रतिपस्र्धीलाइ पछि पार्दै उपाधी जितेका गुरुङले एक लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।
प्रतियोगीतामा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । उनलाइ एक लाख नगद पुरस्कार प्रदान गरिएको छ । ३ घण्टा ३० मिनेट २ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रणवम दल गणका सविन तामाङ तेस्रो भए । उनले पुरस्कार स्वरुप नगद ५० हजार रकम पाएका छन् । प्रतियोगीतामा दशौ स्थान सम्म हासिल गर्ने सहभागीलाइ पुरस्कार वितरण गरिएको छ । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुदै गोरखा नगरपालिकाको गोरखा दरवार पुगेर टुङ्गिएको हो ।
नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिका प्रतियोगीताका आयोजक हुन् । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले प्रतियोगीता गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताबाट नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० कार्यक्रमलाइ पनि सहयोग पुग्ने अपेक्षा लिइएको थियो ।
के भन्छन् उपाधी बिजेता गुरुङ
‘नेपाल एकीकरणको उद्गम थलो लिगलिगकोट देखि पृथ्वी नारायण शाहले राज्य गरेको गोरखा दरवार सम्मको यो दौडमा सहभागी हुन पाउँदा म निकै खुशी छु । म दशौ स्थान सम्म आउछु होला भन्ने सोचेको थियो तर पहिलो नै भए । प्राय बिदेशी खेलाडीहरुसँग प्रतिस्पर्धा गर्दै आएको थिए आज नेपाली खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पाउँदा अर्काे नयाँ अनुभव भयो । हाल म बिदेशमै बस्छु । केही समय अघि मात्र नेपाल आएको हुँ । मैले १७ बर्ष नेपाली सेनामा जागिर खाए । दौडमा सहभागी भएर सय भन्दा बढि स्वर्ण पदक जितिसकेको छु । अन्तराष्ट्रिय स्तरमा पनि थुप्रै पदक पाए । तर नेपाली सेनाले मलाइ मिडियामा आउन पनि दिएन र मैले पाउने सुविधा पनि दिएन । अनि जागिर छाडेर म बिदेश गए । अहिले बिदेशीको स्पोन्सरमा उतै तालिम गरिरहेको छु । बिभिन्न प्रतियोगीतामा सहभागी हुन्छु ।’