‘चुल्ठे, मुन्द्रेका दिन गए’ः एसपी अधिकारी
‘चुल्ठे, मुन्द्रेका दिन गए’ः एसपी अधिकारी
गोरखा ः जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले गैरकानूनी काममा संलग्न हुनेहरुको दिन सकिएको बताएका छन् ।
आरुघाटमा मंगलवार भएको नागरिक सुनुवाइ तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले गुण्डागर्दी र दादागिरी गर्ने र विभिन्न वहानामा चन्दा असुल गर्नेलाइ कारवाहीको दायरामा ल्याउने चेतावनी दिए । ‘थर्काउने, धम्काउने र बिभिन्न शंकास्पद गतिविधिमा संलग्न हुने चुल्ठे मुन्द्रेका दिन गए,’ उनले भने, ‘उनीहरु कि जिल्ला छाडेर भाग्नुप¥यो, होइन भने हामी कारवाही गर्छौ ।’
चन्दा असुल गरेको पाइएमा व्याज सहित असुल गरिने उनले बताए । सूचना दिएर प्रहरीलाइ सहयोग गर्न उनले कार्यक्रमका सहभागीलाइ आग्रह समेत गरे । खोरज भइसकेको सिण्डिकेट व्यूँताउनेलाइ पनि कारवाहीको दायरामा ल्याउने उनले चेतावनी दिएका छन् । ‘सरकारले सिण्डिकेट खारेज गरिसकेको छ, तर जिल्लाका केही ठाउँमा यातायात व्यवसायीले सिण्डिकेट लगाउन खोजेको भन्ने गुनासो आएको छ ।
त्यस्तो हो भने हामी कारवाही गर्छाै,’ उनले भने । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै एसपी अधिकारीले प्रहरीको काममा नागरिकले पनि साथ दिनुपर्ने बताए । कार्यक्रममा ट्राफिक नियमबारे जिल्ला ट्राफिक इन्चार्ज सुक बहादुर बिकले सहजिकरण गरेका छन् ।
आरुघाट गाउँपालिका वडा नम्वर ९ का अध्यक्ष डिल बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक बिमल पराजुली, महिला तथा बालबालिका उद्धार केन्द्रकी सम्झना देवकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष शैलेश लामिछाने, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै मजदुर संगठनका जिल्ला अध्यक्ष लामिछानेले यातायात मजदुरलाइ गरिने व्यवहारमा पनि परिवर्तन हुनुपर्ने बताए । कार्यक्रमका सहभागीहरुले यातायात मजदुरले यात्रुलाइ गर्ने व्यवहार सुधार हुनुपर्ने बताएका छन् । बाटो गुणस्तर नहुँदा सवारी दुर्घटना हुने गरेको उनीहरुको भनाइ छ । कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम पनि भएको थियो ।