बारपाक सुलिकोटका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बारपाक सुलिकोटका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
गोरखा ः बारपाक सुलिकोट गाउँपालिकाका जेष्ठ नागरिकले घरमै स्वास्थ्य जाँच सेवा पाउन थालेका छन् ।
जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गर्दै पालिकाले ८० बर्ष माथिका नागरिकलाइ घरमै पुगेर स्वास्थ्य जाँच सेवा शुरु गरेको छ । चालु आर्थिक बर्षबाट कार्यक्रम शुरु गरिएको स्वास्थ्य शाखा संयोजक मोदराज भट्टले बताए ।‘पालिका भित्रका आठ वटै वडाको घरघरमा पुगेर स्वास्थ्य जाँच सेवा संचालन गरेका छौ,’ उनले भने, ‘सबै जेष्ठ नागरिकले यो सुविधा पाउछन् ।’
यही भदौ ४ गते सबै स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालीम प्रदान गरी कार्यक्रम शुरु गरिएको उनले जानकारी दिए । ‘धेरै जेष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्था आउन सक्ने अवस्था छैन, यो कार्यक्रम फलदायी हुन्छ भन्ने अपेक्षा गरेका छौ,’ उनले भने । यस अघि पालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिकलाइघरमै पुगेर सेवा दिने योजना बनाएको थियो । तर नागरिकको संख्या धेरै स्वास्थ्यकर्मीको संख्या कम भएपछि सम्भवन नभएको भट्ट बताउछन् ।
नेपाल सरकारको तय गरेका राष्ट्रिय कार्यक्रमहरुलाई असर नपर्ने गरि जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।गाउँघर क्लिनिक, खोप तथा पोषण जस्ता कार्यक्रमलाई पनि प्रभाव नपर्ने उनले बताए । घरघरमा पुगेर सेवा दिने स्वाथ्यकर्मीलाइ पालिकाले प्रोत्साहन भत्ता स्वरुप केही रकम उपलब्ध गराउने छ । घरघरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिकहरुको स्वास्थ्य अबस्था कस्तो छ ? भन्ने बारे जानकारी लिने र त्यसको रिर्पोटिङ समेत महिनाको एक पटक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
एकजना स्वास्थकर्मीले दिनमा २० जना सम्म जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्न सक्ने भट्ट बताउछन् । गाउँहरु टाढा भएको ठाउँमा भने केही समस्या हुन सक्ने उनले बताए ।