नमूना बन्यो जामुने गाउँ
नमूना बन्यो जामुने गाउँ
गोरखा ः न मोटर न बाटो । मोटरवाटो देख्नकै लागी गाउँबाट १५ मिनेट पैदल हिड्नुपथ्र्याे । दलित समुदायको वाहुल्यता । केही घरधुरी जानजाती पनि । स्थानीयमा जनचेतनाको कमी । रोजगारी शुन्य । खेतीपाती वा मजदुरीको बिकल्प थिएन ।
सरसफाइमा बिरलै ध्यान जान्थ्यो । भूकम्प अघिको आरुघाट गाउँपालिका–४ थुमीको जामुने गाउँको अवस्था यस्तै थियो ।
ढुङ्गा र खरले छाएका घरहरु २०७२ सालको भूकम्पले सङ्लो राखेन । गोठ र छाप्रोमा स्थानीयको वास भयो ।
लघु जलबिद्युतमा क्षति पुगेपछि गाउँको ज्योती गुम्यो । आर्थिक अवस्था कमजोर भएकै कारण घर पुननिर्माण गर्ने आँट स्थानीयले गर्न सकेनन् । भूकम्पको एक बर्षपछि पुननिर्माणमा सघाउ पु¥याउने उदेश्यले गाउँ पुगेको सहयोगी हातहरुको समूह (सहास) नेपालको आडमा स्थानीयले घर पुननिर्माण थाल्ने आँट गरे । प्रति घरधुरी १५ सय उठाएर गाउँमा सडक पु¥याए । ४९ घरधुरी पुननिर्माणको सुरुवात भयो । खण्डहरमा परिणत वस्ती जुर्मुराउन थाल्यो ।
बिभिन्न समूह बनाएर घर बनाउँन अर्मपर्म गरे । ‘हाम्रो पाँच जनाको समूह थियो,’ स्थानीय विर बहादुर बिश्वकर्माले भने, ‘आलोपालो गरेर घर बनायौ ।’ अर्मपर्म गर्दा लागत खर्च कम भएको उनी बताउछन् । १२ जनाको समूह बनाएर अर्मपर्ममा घर बनाएका राजेश सुनार भन्छन्, ‘एउटा घरको डिपिसी सकेपछि अर्को घरमा जग खन्थ्यौ, त्यसको डिपिसी सकेर अर्काेमा गारो लगाउथ्यौ ।’ दुई बर्षमा वस्ती पुननिर्माण भएको उनी बताउ छन् ।
सबै भूकम्प पीडित स्थानीयले नयाँ घर पाएका छन् । त्यति मात्र होइन, सबैको भान्सामा धुवा रहित सुधारिएको चुलो छ । ‘यो चुलोमा खाना बनाउँदा दाउरा पनि कम लाग्छ, फेरि भित्र धुवा पनि नहुने रहेछ,’ सन्तमाया विश्वकर्माले भनिन् ।
घरैपिच्छे कुखुराको खोर छ । आयआर्जनका लागी सवैले कुखुराको चल्ला पाएका छन् । ‘सबै घरलाइ दश÷दश वटा चल्ला वितरण गरेको थियो, बाकी आफैले थपेर अहिले ३५ वटा पालेको छु,’ सन्तमायाले भनिन् । खेतिपातीका लागी बिरुवा वितरण पनि भएको छ । खेतिमा स्थानीयहरु संलग्न हुन थालेका छन् । सबैको घरमा सोलार जडान भइसक्यो ।
केन्द्रिय प्रशारण लाइनको बिद्युत पनि जोडिएको छ । घरपिच्छे चर्पी । पानीको कुनै समस्या छैन । सरसफाइमा स्थानीय सचेत छन् । जनचेतना फैलाउन किशोर किशोरी संवाद समूहको सक्रियता बढेको छ ।
सहास नेपालको सहयोगमा अहिले गाउँको मुहार फेरिएको छ । जामुने गाउँ अहिले जलवायु अनूकुलन मैत्री नमूना गाउँ बनेको छ । वस्ती मंगलवार एक कार्यक्रममा बिच स्थानीयलाइ हस्तान्तरण गरियो ।
नयाँ घर पाएका स्थानीय अहिले खुशी छन् । ‘पहिले पानी थिएन, पुराना घर थिए, अहिले सबैको नयाँ घर छ, पानीको समस्या छैन, हाम्रो गाउँ साच्चिकै नमूना बनेको छ,’ प्याउली माया सारु मगरले भनिन् ।
पहिले भन्दा अहिलेको गाउँ उनलाइ रमाइलो लाग्छ ।