रोकिएन दशै मेलामा जुवाको खाल
रोकिएन दशै मेलामा जुवाको खाल
गोरखा ः जिल्ला सदरमुकाममा जारी दशै सस्तो बजार मेलामा खुलेआम जुवाको खेल भइरहेको छ ।
मेला स्थलको वाल उद्यान तर्फ जुवा खेलाउन स्टल राखिएको छ । फिरफिरे नाम दिदै खेलाइएको जुवामा हजारौ रकमको कारोवार हुने गरेको स्रोत बताउँछ । तर आयोजक चेम्वर अफ कमर्स सँगै प्रशासन मुकदर्शक बनेको छ ।
‘सुरक्षाकर्मी त्यही हुन्छन्, तर कारवाही गर्नुको सट्टा हेरेर बस्छन्,’ स्रोत भन्छ, ‘आयोजक देखे नदेखे झै गर्छ ।’ जुवा खेलाउने टोलीले केही मानिस समेत परिचालन गरेको उनको भनाइ छ ।
– सेटिङमै खेलाउने गरेको अरोप
– प्रशासन र आयोजक मुकदर्शक
‘चार÷पाँच जना मान्छे परिचालन गरेर ललाइ फकाइ जुवा खेल्न बाध्य पार्छन्,’ उनले भने । मेलाको सातौ दिन मंगलवार पनि खुलेआम जुवाको खेल भइरहेको थियो । सय देखि हजार सम्मका नोटहरु खालमा थिए ।
जुवाको नाममा ब्रम्हलुट गरी पैसा कमाउन पल्केकाहरुको साथमा पैसा राख्नका लागी जेव्रा झोला थियो । फोटो खिच्न पुगेका संचारकर्मीलाई फोटो नखिच्न भन्दै उनीहरुले धम्कीपूर्ण भाषा प्रयोग गरे ।
नजिकै मुकदर्शक बनेर खुलेआम रुपमा भइरहेको जुवाको खेल हेरिरहेका प्रहरीलाइ खवर गर्दा माथिको आदेश चाहिने बताए । केही वेरमा जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाइ खवर गरेपश्चात जुवा खेलाउने मध्यका एक जनालाइ प्रहरीले नियन्त्रणमा लियो ।
पक्राउ पर्ने सुनसरीका ४१ बर्षिय हिरा शाहको साथबाट नगद २१ हजार चार सय ८० रुपैया समेत बरामद भएको डिएसपी मित्रवन्धु शर्माले बताए ।
‘फिरफिरे नामको खेल खेलाएका रहेछन्, यो एक प्रकारको जुवा नै हो, अनुमति पनि लिएका रहेनछन्, नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ,’ उनले भने । जुवाका सामान समेत जफत गरिएको उनको भनाइ छ ।
यही असोज ९ गते विहीवार पनि मेलामा जुवाको खेल भएको थियो । एकै व्यक्तिले जुवामा २५ हजार भन्दा बढि हारेका थिए । आयोजक चेम्वर अफ कमर्स गोरखाले भने जुवाको खेल मेलामा नभएको दावी गर्दै आएको छ ।
‘फिरफिरे खेलाएका हुन् त्यसलाइ जुवा भन्न मिल्दैन,’ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने । मेलाको नाममा जुवा खेलाएको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । आयोजक र प्रशासनकै मिलेमतोमा जुवा खेल खेलाइको आरोप समेत लाग्ने गरेको छ ।