गोरखा दरवारमा राखियो पृथ्वी नारायण शाह कालिन हतियार र पोशाकमा सेना
गोरखा दरवारमा राखियो पृथ्वी नारायण शाह कालिन हतियार र पोशाकमा सेना
कालो दौरा सुरुवाल । कम्मरमा खुकुरी । टाउकोमा चाँदतोडा । हातमा भरुवा वन्दुक । पृथ्वी नारायण शाह कालिन यो हतियार र पोशाक सहित नेपाली सेना गोरखा दरवारमा बस्न थालेका छन् ।
नेपाली सेनाको रणसिंह दल गणको पहलमा शार्दुल जंग गुल्म हनुमानढोकाको टुकुडी ल्याइएको छ । मन्दिरको दायाँ वायाँ शाह कालिन पोशाक र हतियार सहित उनीहरु बस्छन् । विहान ६ बजे देखि साँझ ६ बजेसम्म उनीहरु त्यहा हुनेछन् । दरवार आउने भक्तजन तथा पर्यटकले उनीहरुसँग फोटो खिच्न पाउने व्यवस्था गरिएको छ । दरवारको सुरक्षा सँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्य रहेको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।
‘पृथ्वी नारायण शाहको पालामा सेनाले लगाउने पोशाक यही थियो,’ उनले भने, ‘त्यही पोशाकमा सेना राख्दा यहाँ आउने पर्यटकलाइ नेपाल एकीकरणको इतिहास बुझ्न सजिलो हुन्छ भन्ने अपेक्षा गरेका छौ ।’ पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने उनले बताए । सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाइ पनि लक्षित गरिएको उनको भनाइ छ । ‘काठमाण्डौको हनुमानढोकामा पहिलै देखि यही पोशाकमा सेना छन्, आज बाट गोरखा दरवारमा पनि शुरु भयो,’ उनले भने ।
इतिहासको संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्ने गोरखा दरवार हेरचाह अड्डाका रामेश्वर कट्टेल बताउछन् । ‘नेपाल एकीकरणको क्रममा सेनाको बहादुरीले बिर गोर्खाली भनेर देश बिदेशमा चिनायो, त्यही पोशाकमा सेना बस्छन्,’ उनले भने, ‘पहिले इतिहास थियो अव सँगै फोटो पनि खिच्न पाउने भएपछि पर्यटकको संख्या बढ्छ भन्ने अनुमान गरेका छौ ।’
२०७५ साल मंसिर महिनाबाट नेपाली सेना गोरखा दरवार बाट हटाइएको थियो । तर मन्दिर क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागी स्थानीयले सेनाको माग गरेका थिए । शुक्रवारबाटै दरवार परिसरमा रहेको फुलवारी व्यारेकमा सेना पनि बस्न थालेका छन् ।