पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्व राजालाई भट्टराइको चुनौती
पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्व राजालाई भट्टराइको चुनौती
गोरखा ः समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्व राजा ज्ञानेन्द्र शाहलाइ सुझाव दिएका छन् ।
पार्टीको आयोजनामा बिहीवार सदरमुकाममा भएको चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना नरहेको बताए । ‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौ,’ उनले भने, ‘राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दै, कुनै हालतमा आउदैन, आउन पनि हुदैन ।’ जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भएको तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक बिकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको बताए ।
‘पूर्व राजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाइ त्यसमा कुनै आपत्ति छैन,’ उनले भने । दशैमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको उनको भनाइ छ । ‘चाडवाडको समयमा पूर्व राजा सँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भने भन्नु गलत हो, अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउछन्, प्रधानमन्त्रीसँग पनि लगाउछन् त्यो ठुलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडी फर्कन सक्दैनौ,’ उनले भने ।
गणतन्त्रलाइ टेकेर समृद्ध नेपाल बनाउने एजेण्डामा अघि बढ्न उनले सबैलाइ आग्रह समेत गरे । दलहरु बिच एकता हुनु आवश्यक रहेको उनले बताए । कार्यक्रम पश्चात पत्रकारसँग कुराकानी गर्दै भट्टराईले आफ्नो पार्टी सत्ताको साझेदार नभएको बताएका छन् । ‘हामी सत्ताको साझेदार होइनांै, संविधान संशोधन गर्नका निम्ति तत्काल दुई तिहाइ बहुमत पु¥याउन सरकारलाई साथ दिएका हौं, अरु विषयमा सरकारसँग हाम्रो कुनै चासो छैन,’ उनले भने । उनले अब बस्ने केन्द्रिय समितिको बैठकले समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने सम्भावना रहेको बताए ।
‘डेढ वर्ष नाघि सक्यो, सरकार संविधान संशोधन गर्न कुनै चासो दिइरहनु भएको छैन,’ उनले भने, ‘त्यसो हो भने सरकारमा रहिरहनुको कुनै औचित्य रहदैन, यो स्थितमा हामी सरकार बाहिर निस्किएर जनताको पक्षमा जनमत तयार गर्ने र आफनो पार्टीको आधार तयार गरेर जानुपर्ने हुन्छ ।’
भट्टराईले आफ्नो पार्टी सत्ताको निम्ति टाँसिएर बस्ने शक्ति नभएको बताउँदै समाजवादी पार्टीलाई सरकारको अंगको रुपमा हेर्न नहुने बताए । उनले विभिन्न स्वार्थका कारण नेपालकै विकासको कोशेढुङ्गा बुढीगण्डकी परियोजनालाई लात्ते भकुण्डो बनाएको आरोप लगाएका छन् ।
भट्टराईले बुढीगण्डकी भन्दा अहिले तमोर राम्रो जस्ता प्रचारबाजी शुरु भएको बताए । उनले भने, ‘स्याउ र सुन्तलाको तुलना हुन सक्छ । स्याउ भनेको स्याउ हो । सुन्तला सुन्तला नै हो ।’ बुढीगण्डकी नेपालकै निम्ती आर्थिक विकासको गेम चेन्जर भएको पनि डा.बावुराम भट्टराईले तर्क गरे ।
आयोजना निर्माण नेपाल आफैले गर्नुपर्ने बताउदै उनले कमिसनको खेलमा लाग्न नहुने बताए । कमिसनतन्त्रकै कारण आयोजक अलपत्र भएको उनले आरोप लगाएका छन् ।