नमूना वस्ती निर्माणको काम रोकियो
नमूना वस्ती निर्माणको काम रोकियो
गोरखा ः निर्माण सामग्री अभावका कारण लाप्राकमा निर्माणाधिन एकीकृत नमूना वस्तीको काम रोकिएको छ ।
गत असोज १५ गतेबाट काम रोकिएको एनआरएनएका ओभरसियर डिल प्रसाद गुरुङले बताए । ‘स्टक सामान सकियो,’ उनले भने, ‘बाटोका कारण सामान ल्याउन सकेका छैनौ ।’ बर्खामा बिग्रीएको सडक मर्मत नहुँदा समस्या भएको उनले बताए ।
‘असोज महिनापछि बाटो खुल्छ भनेर त्यही अनुसार निर्माण सामग्री स्टक राखेका थियौ,’ उनले भने, ‘तर बारपाक देखि लाप्राकको बाटो बनेन, सामान पनि सकियो ।’ सिमेन्ट अभावकै कारण काम रोकिएको उनले जानकारी दिए ।
बारपाक र लाप्राक बिच सिमा विवादका कारण सडक मर्मतको काम रोकिएको थियो । विवाद मिलाउन सात वुँदे सहमति समेत भइसकेको छ । नमूना वस्तीमा ५ सय ७३ घर बनेका छन् । घरको संरचना तयार भइसकेको छ ।
अहिले शौचालय निर्माणको काम हुदै छ । ‘४१ वटा शौचालय निर्माण भइसक्यो, ३ सय ६० वटाको खाडल खनेर डिपिसी गरियो, सिमेन्ट नभएर अहिले काम रोकिएको छ,’ उनले भने । सडक मर्मत भएर सवारी आवागमन सहज नभएसम्म काम शुरु गर्न नसकिने उनको भनाइ छ ।
यस अघि शौचालय निर्माण गर्ने योजना एनआरएनएको थिएन । स्थानीयको गुनासो बढेपछि शौचालय निर्माण गर्ने निर्णय गरिएको हो । सामग्री आएको एक महिना भित्र शौचालय निर्माणको काम सम्पन्न हुने एनआरएनएको दावी छ ।
घर भित्रको बुइगलमा काठ छाउने काम बाकी रहेको इन्जिनियर लक्ष्मण अर्याल बताउछन् । ‘काठ ल्याउने जिम्मा स्थानीयलाइ दिएका थियौ तर कतिपयले काठ नल्याउदा घरको दोस्रो तलामा काठ छाउने काम नै हुन सकेको छैन,’ उनले भने ।
त्यसका लागी समन्वय गरिदिन गाउँपालिकालाइ आग्रह गरिएको उनले बताए । वस्तीमा खानेपानी वितरणका लागी हिमालको फेदी भुल्मेचेत मुहानबाट पानी ल्याइएको छ । वस्ती देखि करिव सय मिटर माथि रिजर्भ ट्याङक निर्माण गरिएको छ ।
‘ट्याङकीमा पानी आइसक्यो, अव वस्तीमा ल्याउनका लागी मेन पाइपलाइन खन्ने काम भइरहेको छ,’ अर्यालले भने । करिव १८.३७ हेक्टर क्षेत्रफलको वनको जग्गामा वस्ती निर्माण भइरहेको हो । चिठ्ठा थुतेर लाप्राकीले नमूना वस्तीमा आफ्नो घर छनोट समेत गरिसकेका छन् ।
जग्गा कित्ताकाट गरेर लालपुर्जा दिने प्रक्रिया अगाडी बढीसकेको एनआरएनएले जनाएको छ । नमूना वस्तीमा बनाइएका प्रत्येक घरमा दुइ कोठा र वुइँगल छन् । वस्ती निर्माणका लागी मजदुर सँगै नेपाली सेना पनि खटिएका थिए ।
गुप्सीपाखामा वस्ती निर्माण भएपनि लाप्राकीहरु पुरानो वस्ती छाड्न नयाँ वस्तीमा सर्न उत्सुक देखिएका छैनन् । भूकम्पले लाप्राकका करिव ६०० भन्दा बढि घरहरुमा क्षति पुगेको थियो ।