यस्ता तीन सूत्र जसले तपाईंलाई सय वर्ष बाँच्न सघाउँछ
यस्ता तीन सूत्र जसले तपाईंलाई सय वर्ष बाँच्न सघाउँछ
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष हो । संसारका जुनसुकै मानिसको सकेसम्म लामो उमेरसम्म बाँचौं भन्ने हुन्छ त्यो पनि ‘गुड हेल्थ’ मा । हुन त नेपालमा पनि सय वर्ष बढी बाँच्ने थुप्रै मानिस नभएका होइनन् । तर मध्य अमेरिकी राष्ट्रस्थित निकोया प्रायद्वीपमा सय वर्ष वा सोभन्दा बढी उमेर भएका नागरिकको संख्या धेरै छ ।
कूल जनसंख्या १ लाख ६१ हजार भएको उक्त प्रायद्वीपमा ४६ जनाको उमेर सय वर्ष वा सोभन्दा माथि छ । जो निकै स्वस्थ तरिकाले जीवनयापन गरिरहेका छन् ।
वर्षौंदेखिको अनुसन्धानले यहाँका बासिन्दाले अनुसरण गर्ने तीन सूत्रबारे पत्ता लगाएको छ जसले उनीहरुलाई लामो आयु प्रदान गरेको छ ।
१. सक्रिय जीवनशैलीः
नियमित व्यायामले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ जसले मानसिक स्वास्थ्यलाई चुस्त बनाउन सहयोग गर्छ । यसले मुटुरोग र टाइप टु मधुमेहबाट पनि जोगाउँछ ।
पाचिटो १०२ वर्ष पुगिसकेका छन् । उनका अनुसार उनले सधैं सक्रिय जीवनशैली अपनाए । ‘घोडाको पिठ्युँमा बसेर मैले थुप्रै ठाउँको यात्रा गर्न धेरै समय खर्च गरेँ । म वाल्यकालदेखि नै घोडचढी गरिरहेको छु । यसले नै मलाई बचाइरहेको जस्तो मलाई लाग्छ,’ पाचिटोले भने ।
२. स्वस्थ खानपिनः
आफ्नो खान्कीमा प्रशस्त मात्रामा फलफूल र सागसब्जी निकै अत्यावश्यक छ । माछा, गेडागुडी धेरैभन्दा धेरै खाने र प्रोसेस्ड फुडबाट सकेसम्म टाढै बस्ने । यसले तपाईंलाई धेरै वर्षसम्म बाँच्न सघाउ पुर्याउँछ ।
मारिया १०५ वर्ष पुगिन् र उनले जीवनभरी अत्यधिक सीफुडको सेवन गरिन् । ‘म चिज, दुध र पियानगुआ नामको स्थानीय सेलफिस खान्छु । म सेलफिसलाई स–सानो टुक्रा पारेर काट्छु र त्यसलाई भात र सिमीसँग मिसाउँछु ।’
३. सामाजिक जीवनशैलीः
धेरैभन्दा धेरै राम्रा साथी भएकाहरुको स्वास्थ्य पनि निकै राम्रो हुन्छ ।
क्लिनिकल साइकोलोजिस्ट एवं प्राध्यापक टिम स्मिथ भन्छन्, ‘तपाईंको जति धेरै सामाजिक सम्बन्ध छ जसको गुणस्तर निकै राम्रो छ, त्यति नै तपाईं बढीसम्म बाँच्ने सम्भावना छ ।
जिन काल्मेन्ट अहिलेसम्मकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी छिन् । उनको जन्म सन् १८७५ मा फ्रान्समा भएको थियो र सन् १९९७ मा १२२ वर्षको उमेरमा उनको निधन भयो ।
हुन त संसारभरीकै औसत आयु पछिल्ला दशकमा बढ्दैछ । यद्यपि, अमेरिकी वैज्ञानिकले मानिसको आयु सम्भवतः १२५ वर्षसम्म भएको ठान्छन् । by ratopati