गोरखा–मनकामना पदयात्रा सम्पन्न
गोरखा–मनकामना पदयात्रा सम्पन्न
गोरखा ः गोरखा दरवार देखि मनकामना सम्मको दुई दिने पदयात्रा शनिवार सम्पन्न भएको छ ।
पदमार्गको पहिचान गर्दै मनकामना आएका पर्यटकलाइ गोरखा दरवार सम्म ल्याउने उदेश्यका साथ रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा भएको हो ।‘पदमार्ग पहिचान सँगै ठाउँठाउँमा होमस्टेको सम्भाव्यता पनि अध्ययन ग¥यौ,’ क्लबका उपाध्यक्ष कृष्ण ढकालले भने, ‘शहिद लखन गाउँपालिका वडा नम्वर ५ को तीनमाने स्थित काउले र वडा नम्वर ७ को काउलेभंगारमा होमस्टे संचालन गर्न उपयुक्त हुने देख्यौ ।’
होमस्टे संचालनका लागी सम्बन्धित पालिकालाइ आग्रह गर्ने उनले बताए । ‘यात्राको क्रममा हामीले देखेका र अध्ययन गरेका कुराहरुको सरोकारवाला निकाय राखेर प्रस्तुतीकरण गर्छाै, अनि आगामी बर्ष योजना बनाएर अगाडी बढ्न सुझाव पनि दिन्छौै,’ उनले भने ।
शुक्रवार बिहान गोरखा दरवारबाट पदयात्रा शुरु भएको थियो । पहिलो दिन ताक्लुङको काउले होमस्टेमा बास बसेको टोलीले शनिवार मनकामनामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
ठाउँठाउँमा स्वागत सँगै अन्तरक्रिया कार्यक्रम भएको बताउदै उपाध्यक्ष ढकालले भने, ‘पदमार्गमा पर्ने ऐतिहासिक र धार्मिक स्थलको पनि अवलोकन ग¥यौ, पदमार्गको केही ठाउँमा बाटो सुधार गर्नुपर्ने आवश्यक देखियो ।’
करिव २३ किलोमिटर दुरीको पदमार्ग पहिचान गरी पर्यटन प्रवद्र्धन गराउने उदेश्य रहेको बताइएको छ । सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाइ पनि लक्षित गर्दै पदयात्रा गरिएको ढकालले बताए ।
यात्रामा रोटरी क्लब, रोट¥याक्ट क्लब अफ गोरखा, गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्वर अफ कमर्स र गोरखा होटल संघका २५ जनाको सहभागीता रहेको थियो ।