बुढीगण्डकीमा २७ अर्ब मुआब्जा वितरण
बुढीगण्डकीमा २७ अर्ब मुआब्जा वितरण
गोरखा ः बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रको जग्गा खरिदमा सरकारले हालसम्म २६ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।
आयोजना प्रभावित गोरखा र धादिङ जिल्लाका १३ हजार ३८५ जना जग्गाधनीलाई मुआब्जा रकम वितरण गरेको बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले जनाएको छ ।
सवैभन्दा बढी मुआब्जा रकम आर्थिक बर्ष २०७५÷७६ मा वितरण भएको इकाइ प्रमुख कृष्ण कार्कीले बताए । त्यो बर्ष ११ अर्व ३१ करोड, २०७४÷७५ मा १० अर्ब ८४ करोड २२ लाख, २०७३÷७४ मा ४ अर्ब ३५ करोड मुआब्जा वितरण भएको छ । चालु आर्थिक बर्षको अहिलेसम्म ३४ करोड रुपैयाँ मुआब्जा वितरण भएको छ ।
आयोजनाको डुवान क्षेत्रमा पर्ने मुख्य बजार क्षेत्र आरुघाट र आर्खेत र खहरेको मुआब्जा हालसम्म वितरण भएको छैन । डुवान क्षेत्रका अन्य धेरै जग्गाको मुआब्जा वितरण भएको ३ वर्ष भन्दा बढी भइसक्दा पनि मुख्य बजार क्षेत्रको मुआब्जा निर्धारण हुन नसकेको हो ।
बजार क्षेत्रका वासिन्दाले मुआब्जा निर्धारणको माग राखेर पटक पटक आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको छ । आयोजनाको डुवान क्षेत्रमा पर्ने १३ हजार ७१२ घरगोठको संरचना र ४५ हजार ९ सय ७० फलफूल तथा बोटविरुवाको तथ्याङ्क संकलन भएको छ ।
आरुघाट, आर्खेत र खहरे बजारको भने तथ्याङ्क संकलन भएको छैन । घर गोठ लगायतका अन्य संरचनाको ह्रासकट्टी नगर्ने र लालपूर्जा नभएको तर फिल्ड वुक कायम भएकालाई मुआब्जा दिने निर्णय गरी मन्त्रालय पठाएको कार्कीले बताए ।
यस विषयमा उर्जा मन्त्रालयबाट आधिकारिक निर्णय आएको छैन । १२ सय मेगावाट क्षमताको जलासययुक्त आयोजना बाट गोरखा र धादिङको साविकका २७ गाविसका वासिन्दा प्रभावित हुनेछन् ।