सुन्तलाको बोटमा ग्रिनिङ रोग देखियो
सुन्तलाको बोटमा ग्रिनिङ रोग देखियो
गोरखा ः सुन्तलाको पकेट क्षेत्रका बोटहरुमा ग्रिनिङ रोग देखा परेको छ ।
गत फागुन महिनामा बोटहरुको नमूना परिक्षण गरिएको थियो । ४९ वटा नमूना परिक्षण गर्दा २८ वटामा उक्त रोग देखा परेको सुन्तलाजात फलफुल जोन गोरखाले जनाएको छ । ‘शंका लागेको स्थानबाट अनुपात मिलाएर बिज्ञ टोलिले नमूना संकलन ग¥यो,’ कार्यालयका बरिष्ठ कृषि अधिकृत अजय अधिकारीले भने, ‘नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा त्यसको परिक्षण गरियो ।’ मनकामना, ताक्लुङ, ताङ्लीचोक, ताप्ले, फिनाम, नारेश्वर, भट्टवेशी लगायतका स्थानबाट नमूना संकलन गरिएको उनले बताए । ‘सिप्रस सिल्ला’ नामक किराबाट यो रोग लाग्ने बताउदै अधिकारीले भने, ‘यो रोग लागेपछि बोटको टुप्पा सुक्ने, पहेलो हुने, दाना सानो लाग्ने, र खाने सिजनमा पनि सुन्तला अमिलो हुने गर्छ ।’ रोगका कारण यस बर्ष जिल्लामा सुन्तला उत्पादन घट्ने अनुमान कार्यालयको छ । रोग नियन्त्रणका लागी प्रयास भइरहेको उनले बताए । ‘रोग लागेका पुराना बोटहरु काट्नुपर्छ, त्यसको लागी औजार किन्ने रकम जोन संचालक समितिले उपलब्ध गराउँछ,’ उनले थपे, ‘यस बर्ष पाँच लाख रकम आएको छ, मेसिनरी औजार कार्यक्रम तर्फको बजेट पनि चलाउन सक्छौ ।’ हिउँदको समयमा यो रोग नसर्ने भएकाले फल टिपेपछी रोग नियन्त्रणका कार्यक्रम लागू गर्ने उनले जानकारी दिए । ‘पालुवा पलाउने बेला यो किराले आक्रमण गर्ने भएकाले त्यो बेला बिषादी प्रयोग गर्ने र सुन्तला बगैचाको बिचबिचमा अम्वाको बोट लगाउँदा यो किरा आउदैन,’ उनले भने ।