मुआब्जा निर्धारणमा ढिलाई किन
मुआब्जा निर्धारणमा ढिलाई किन
आरुघाट बजार क्षेत्रको मुआब्जा निर्धारण गर्न माग राख्दै स्थानीय आयोजना प्रभावितले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
मुआब्जा निर्धारणका लागी गरिएको यो पहिलो आन्दोलन भने होइन । यस अघि पनि बारम्वार आन्दोलन हुदै आएका छन् । तर हाल सम्म पनि आयोजनाले आरुघाट र आर्खेत क्षेत्रको मुआब्जा निर्धारण गर्न सकेको छैन ।
स्थानीय आन्दोलनमा उत्रिनु पनि स्वभाविक नै हो । डुवान क्षेत्रमा पर्नै भन्दै सरकारले केही बर्ष देखि उनीहरुको जग्गा रोक्का गरेको छ । किनवेच हुन पाएको छैन । भूकम्पले क्षति पुगेका घरहरु पुननिर्माण गर्न समेत उनीहरुमा अन्यौलता छ ।
अन्य क्षेत्रका प्रभावितले मुआब्जा पाइरहेका छन् । मुआब्जा रकमबाट जग्गा किनेर अधिकांशले बसोवासको जोहो गरिसके । तर मुआब्जाको आशमा बसेका आरुघाट र आर्खेत क्षेत्रका स्थानीय हाल सम्म पनि मुआब्जा निर्धारण नहुदा चिन्तित छन् ।
मुआब्जा निर्धारणमा आयोजनाले तदरुपता देखाउन सकेको छैन । मुआब्जा निर्धारण समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी र आयोजनाको सिउरेनीटार स्थित इकाइ प्रमुख एक अर्कालाइ दोषारोपण गर्न व्यस्त छन् ।
इकाइको म्याद समेत सकिसकेको छ । न इकाइको म्याद थप भएको छ न मुआब्जा यति समयभित्र तोकिन्छ भनेर मुआब्जा निर्धारण समितिले भन्न सकेको छ । तयारी अवस्थामा छौ भन्दै आलटाल गरिरहेको समितिले केही दिनमै मुआब्जा निर्धारण हुने भन्दै फुस्रो आश्वासन देखाइरहेको छ । यसको मर्का
आरुघाट र आर्खेतका आयोजना प्रभावितलाइ परेको छ ।
प्रभावितको भावनासँग आयोजनाले खेलवाड नगरी चाडो भन्दा चाडो सो क्षेत्रको मुआब्जा निर्धारण गरेर वितरण गर्नुपर्छ । स्थानीयले पनि आन्दोलनको बिकल्प खोजेर बढी महत्वकांक्षी हुनुहुदैन । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागी सबैको साथ र सहयोग आवश्यक छ ।