बजार अनुगमन औपचारिकतामा मात्र सिमित नवनोस्
बजार अनुगमन औपचारिकतामा मात्र सिमित नवनोस्
औपचारिकता पुरा गर्नकै लागी भएपनि अनुगमन समिति कहिले कसो बजार पस्न थालेको छ । सिमित ठाउँमा केन्द्रित भएर समितिले गर्दै आएको अनुगमनको हाल सम्म कुनै प्रभावकारीता देखिएको छैन । मापदण्ड पुरा नगरी व्यापार व्यवसाय संचालन गर्ने व्यापारीलाइ कारवाही गर्न समिति चुकेकै छ ।
सानालाइ ऐन ठुलालाइ चैन भनेझै कारवाही नै भएपनि साना तिना व्यवसाय गर्ने व्यवसायीहरु त्यसको शिकार हुने गरेका छन् । आवश्यक मापदण्ड पुरा नगर्ने ठुला व्यवसायीको अगाडी अनुगमन समिति पनि निरिह बन्ने गरेको छ ।
बजार अनुगमन हुनु राम्रो कुरा हो । उपभोक्ता ठगिनबाट बच्न अनुगमन आवश्यक पनि छ । तर बजार क्षेत्रमा हुदै आएका अनुगमनलाइ नियाल्ने हो भने औपचारिकता पुरा गर्ने र समय वर्वाद गर्ने वाहेकको अन्य उपलब्धी छैन ।
त्यसो त बजार क्षेत्रमा अनुगमन हुनु पुर्व नै व्यापारीले सुइको पाइसकेका हुन्छन् । अनि कसरी अनुगमनको प्रभावकारिता हुन्छ । अनुगमनमा अधिकांश म्याद गुज्रिएका सामानहरु भेटिन्छन् ।
पसलमा मूल्यसूचि हुदैनन् । बारम्वारको अनुगमनमा देखिने व्यापारीको लापरवाही यही हो । तर खै त अनुगमन समितिले कारवाही गर्न सकेको ?
दुइ चार जना मान्छे बटुलेर पसलमा अनुगमनको ढोंग रच्नु भन्दा बरु प्रभावकारी ढंगले अनुगमनको साथै कारवाहीलाइ पनि अगाडी बढाउनु आवश्यक छ । कारवाहीमा यसरी नै चुक्दै जाने हो भने बजारमा वेथिति बढ्दै जाने छ र अनुगमन समितिले आफ्नो अस्तित्व पनि गुमाउदै जानेछ ।