तीन तहका सरकार तीन तिर हिँड्दा विकास निर्माण प्रभावितः नागरिक अगुवा
तीन तहका सरकार तीन तिर हिँड्दा विकास निर्माण प्रभावितः नागरिक अगुवा
देशका तीन तहका सरकार तीन तिर हिँड्दा विकास निर्माणको काम प्रभावित बनेको भन्दै नागरिक अगुवा चिन्ता व्यक्त गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले प्रतिफल पाउने बेला सोचे अनुसार विकास हुनै नसकेको बताए ।
जनप्रतिनिधि नागरिक समाजसँग नजिकिने भन्दा पनि टाढा हुँदै गएको आभास भएको साझा सभाका संयोजक तथा वार एसोसिएसनका स्थानेश्वर दवाडीले बताए । ‘गोरखाको सन्दर्भमा हामीले जनप्रतिनिधिलाई घच्घच्याइरहेका छौँ । कति सफल कति असफल ? समीक्षा गरेर अघि बढ्नुपर्ने छ ।’–दवाडीले भने ।
सडक, विद्युत, खानेपानी जस्ता आधारभुत विकासका काम भएपनि निकै सुस्त तवरले भएकोमा नागरिक अगुवाको असन्तुष्टी छ । मध्यपहाडी सडक, १२ किलो भालुस्वारा वारपाक सडक निर्माणको प्रगति र राष्ट्रिय गौरवको रूपमा रहेको आयोजना बुढीगण्डकी निर्माणको विषय अन्यौलमा हुनु दुखद् रहेको उनिहरुको तर्क छ ।
सङ्घीयतापछि देश विकासले सोचेअनुसार फड्को मार्न नसकेको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सिताराम श्रेष्ठले बताए । विकासको प्रतिफल पाउने बेला जनता दुःख र पिडामै रहेको उनले बताए । उनले भने–‘‘यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने देखेका छौँ ।’
नागरिक समाज र सञ्चार जगतले आफ्नो आवाज बुलन्द बनाउन नसके जुनकुनै सरकार झनै स्वेच्छाचारी हुँदै जाने सरोकारवाला बताउछन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष किशोरजङ्ग थापाले तीन सरकार तीन तिर हिँड्ेको आरोप लगाउँदै स्थानीय, प्रदेश र सङ्घीय सरकार नागरिक समाज प्रति जबाफदेही नबनेको बताए ।
‘विकासका काममा जिम्मेवार बनाउन दबाबमुलक तवरले प्रस्तुत हुनुपर्ने आवश्यकता आएको छ,’उनले भने । जिल्लामा देखिएका विकृति बिसङ्गतिका विरूद्घ आवाज उठाउन सञ्चारकर्मी र नागरिक समाजले प्रशंसनीय भूमिका खेलेको मानव अधिकार तथा शान्ति समाजका उपाध्यक्ष सिताराम तिवारीले बताए ।
काम नगर्ने ठेकदार नै सम्मानित हुने गरेकोमा कार्यक्रमकी सहभागीले चिन्ता जनाए । मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी ऋषि खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।