चेपाङ विद्यार्थीका लागि आवासिय सुविधा सहितको छात्रावास
चेपाङ विद्यार्थीका लागि आवासिय सुविधा सहितको छात्रावास
गण्डकी गाउँपालिका–६ भुम्लिचोकको तोमनडाँडा आधारभूत बिद्यालयले आवासिय सुविधा सहितको छात्रावास संचालन गरेको छ ।
गरिव तथा असहाय चेपाङ बालबालिकाको लागी छात्रावास संचालन गरिएको बिद्यालयले जनाएको छ । हाल २१ जना चेपाङ समुदायका बिद्यार्थी आवासिय सुविधा सहित छात्रावासमा बस्दै आएका छन् ।
‘परिवारको आर्थिक समस्या अनि घर देखि बिद्यालय टाढा हुदाँ धेरै चेपाङ बालिबालिकाहरुले बिचमै बिद्यालय छाड्ने क्रम बढ्यो,’ बिद्यालयका प्रधानाध्यापक कुल बहादुर चेपाङले भने, ‘त्यसैले आवासिय सुविधा सहितको छात्रावास संचालन गरेका हौ ।’
चालु शैक्षिक शत्रबाट छात्रावास संचालन गरिएको उनले बताए । छात्रावासको भवन निर्माणका लागी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइको पहलमा चाइनिज दुतावासबाट ८० लाख रकम प्राप्त भएको बिद्यालयले जनाएको छ ।
‘त्यो पैसाले पहिलो फ्ल्याट बनायौ, गत बर्ष सांसद हरिराज अधिकारीको सांसद बिकास कोषबाट १५ लाख रकम प¥यो त्यसले झ्याल ढोका हालेर प्लाष्टर गर्न पुग्यो ।’
छात्रावास व्यवस्थापनका लागी गाउँपालिकाले गत आर्थिक बर्ष पाँच लाख रकम बिनियोजन गरेको बताउदै उनले थपे, ‘त्यो रकमले ओड्ने ओछ्याउने, फर्निचरहरु जोड्यौ ।’
जिल्लाभर छरिएर रहेका प्लस टु सम्म पढ्ने चेपाङ बालबालिका छात्रावासमा बस्न मिल्ने बिद्यालयले जनाएको छ । अभिभावक विहिन बालबालिकालाइ बिशेष प्राथमिकता दिइएको प्रअ चेपाङले बताए ।
‘अहिले गण्डकी गाउँपालिकाको वडा नम्वर १, २, ६, ७ र शहिद लखन गाउँपालिका को वडा नम्वर ४ का गरी कुल २१ जना चेपाङ बिद्यार्थी छन्,’ उनले भने, ‘बर्षमा पाँच जनाको दरले थपेर ४१ जना सम्म पु¥याउने योजना छ ।’
जेहेन्दार, गरिव र अभिभावक बिहिन वालवालिकाका लागी कोटा छुट्याउने उनले बताए । छात्रावासमा बसेर अध्ययन गर्ने बिद्यार्थीको पठनपाठनमा पनि सुधार भएको उनको भनाइ छ । गाउँपालिकाले यस बर्ष पनि पाँच रकम दिएको छ ।
चेपाङ बिकास कार्यक्रम अन्तरगत छात्रावास व्यवस्थापनका लागी रकम विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले बताए । समय समयमा चेपाङ बालबालिका लाइ शैक्षिक सामग्री पनि वितरण गरिदै आएको उनले बताए ।
पालिकाले दिएको रकम पर्याप्त नभएको बिद्यालयको गुनासो छ । ‘अहिले एक बर्षमा करिव सात लाख खर्च हुन्छ, पैसा थपिदिन पालिकासँग माग पनि गरेका छौ,’ चेपाङले भने ।