बिद्यार्थीले पाएनन् बैदेशिक रोजगार छात्रवृत्ति
बिद्यार्थीले पाएनन् बैदेशिक रोजगार छात्रवृत्ति
बैदेशिक रोजगारको क्रममा मृत्यु भएका तथा अशक्त घाइते कामदारको बालबच्चालाई बैदेशिक रोजगार बोर्डले बर्षेनी छात्रवृत्ति प्रदान गर्छ । तर गत आर्थिक बर्ष जिल्लाका कुनै बिद्यार्थीले पनि उक्त छात्रवृत्ति पाएनन् ।
ढिला गरी निवदेन आएको र आवश्यक कागजपत्र नपुगेकाले छात्रवृत्ति नपाएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाका सूचना अधिकारी सुवासचन्द्र आचार्यले बताए । वैदेशिक रोजगार छात्रवृत्तिका लागी यस बर्ष नौ जना बिद्यार्थीको निवदेन परेको उनले जानकारी दिए ।
‘छात्रवृत्तिका लागी बिद्यार्थीको निवेदन संकलन गरेर सम्बन्धित बिद्यालयले हाम्रो कार्यालयमा पठाउनुहुन्छ,’ उनले भने, ‘आवश्यक कागजपत्र हेरेर हामी बैदेशिक रोजगार बोर्डमा पठाउछौ ।’ सिफारिसका लागी यस बर्ष बोर्डमा आवश्यक कागजपत्र पठाइसकेको उनले बताए ।
निवदेन पर्ने मध्य अधिकांश गोरखा नगरपालिका भित्रका छन् । बैदेशिक रोजगारको क्रममा नेपाल सरकारबाट श्रम स्वीकृती लिइ करार अवधि भित्र मृत्यु भएका वा पूर्ण रुपमा अशक्त वा गम्भिर रुपमा बिरामी भएका कामदारहरुको बालबालिकाले उक्त छात्रवृत्ति पाउने कार्यालयले जनाएको छ । बाल बिकास केन्द्र देखि आठ कक्षा सम्मका बिद्यार्थीले जनही बार्षिक ८ हजार पाउने आचार्यले बताए ।
कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीले जनही १२ हजार पाउने उनले जानकारी दिए । बोर्ड मार्फत कार्यालयमा रकम आउने र कार्यालयले सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिने उनको भनाइ छ ।
छात्रवृत्तिका लागी निवदेन कम पर्ने गरेको बताउदै उनले भने, ‘प्रधानाध्यापकहरु नै सक्रिय भएर बिद्यालयमा भएका त्यस्ता बालबालिकाको पहिचान गर्न नसक्दा कम निवदेन आएको हो, त्यसमा प्रअले क्रियाशिलता देखाउनुपर्छ ।’ आवश्यक कागजपत्र नपुग्दा पनि निवेदन दिएका सबै बिद्यार्थीले छात्रवृत्ति नपाउने गरेको उनले बताए ।