भ्रमण बर्षको मुखमा दरवारको बेहाल
भ्रमण बर्षको मुखमा दरवारको बेहाल
भ्रमण बर्ष २०२० नजिकिदै छ । देशभर २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर नेपाल राज्य एकीकरणको उद्गम थलो गोरखा दरवारको अवस्था भने वेहाल छ ।
सम्झौता अवधि गुज्रिदा ३० प्रतिशत मात्र काम सम्पन्न भएको गोरखा दरवारले भ्रमण बर्षलाइ गिज्याइरहेको छ ।
यही गतिमा काम हुने हो भने भ्रमण बर्ष २०२० को अवधिभर पनि दरवार पुननिर्माणले पूर्णता नपाउने सम्भावना छ ।
विभिन्न वहाना बनाउँदै काममा लापरवाही गर्ने ठेकेदारका कारण ढिलाई भएको हो । दरवार पुननिर्माणको जिम्मा पचली भैरव सिभाको जेवीलाई छ । सम्झौता अनुसार दरवारको पुनर्निर्माण यही मंसिर मसान्तभित्र सक्नुपथ्र्याे ।
२०७४ कात्तिक महिनामा सम्झौता भएको थियो । तर अहिले सम्म भुइँ तलाको काम पनि सकिएको छैन । ‘भुइँ तलाको काम हुदैछ, मूल ढोका र आँखी झ्याल राखियो,’ गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरी भुषालले भने, ‘गारो लगाउने काम भइरहेको छ ।’
समयमै काम सम्पन्न नहुँदा रंगमहल र कालिका मन्दिरको पुननिर्माण समेत प्रभावित भएको उनले बताए ।
कालिका मन्दिर पुननिर्माणका लागी यस बर्ष एक करोड रकम विनियोजन समेत भएको छ । तर सुस्त गतिमा अघि बढिरहेको दरवार पुननिर्माणको कामले कालिका मन्दिर पुननिर्माण शुरु गर्न नसकिएको उनको भनाइ छ ।
समयमै जिम्मेवारी पुरा गर्न नसकेपछि ठेकेदारले म्याद थपका लागी पुरातत्व बिभागसँग हारगुहार गरेको छ । एक बर्ष म्याद थप्न पत्राचार गरेको बिभागकी पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले बताइन् ।
‘थप भएको समयभित्र काम नसके कारवाही भोग्न तयार छु भनेर लिखित प्रतिवद्धता पनि गरेको छ,’ उनले भनिन्, ‘म्याद थप्ने नथप्ने बारे छलफल हुदैछ ।’
ठेक्का अवधिको २५ प्रतिशत मात्र म्याद थप गर्न मिल्ने प्रावधान रहेको बताउदै उनले थपिन्, ‘बिभागसँग २५ प्रतिशत म्याद थप्ने अधिकार हुन्छ, त्यो भनेको ६ महिना हो, त्यो भन्दा धेरै समय थप गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण पठाउनु पर्छ ।’
६ महिना म्याद थप गर्ने तयारी भइरहेको उनको भनाइ छ । भूकम्पले क्षति पुगेको दरवार कुल ४ करोड ३३ लाखको लागतमा पुननिर्माण हुन लागेको हो । जगै देखि भत्काइएको उक्त दरवार पुरानै स्वरुपमा बन्ने छ । यस बर्ष शितल पार्टीको पनि पुननिर्माण हुने दरवार हेरचाह अड्डाले जनाएको छ ।