नेपाल राष्ट्रिय भूपू सैनिक बिद्यालयको भवन सेनाले बनाउने
नेपाल राष्ट्रिय भूपू सैनिक बिद्यालयको भवन सेनाले बनाउने
गोरखा नगरपालिका–८ खल्लुवोटेको नेपाल राष्ट्रिय भूपू सैनिक आवासिय बिद्यालयले नयाँ भवन पाउने भएको छ ।
नेपाली सेनाले चार कोठे भवन बनाउन लागेको हो ।सेना नागरिक सम्बन्ध कार्यक्रम अन्तरगत भवन निर्माण हुने रणसिं दल गणका गणपति उज्वल केसीले बताए । ‘ठेक्का प्रक्रियामा गइसक्यौ,’ उनले भने, ‘केही दिनमा ठेक्का सम्झौता भएर काम शुरु हुन्छ ।’
२५ लाख रकम खर्चेर भवन निर्माण हुने उनको भनाइ छ । उनले भने, ‘त्यो रकम वाहेक पाँच लाख बराबरको श्रमदान सेनाले गर्नेछ ।’ यही बर्षभित्र काम सम्पन्न हुने उनले जानकारी दिए । भवन निर्माणका लागी बिद्यालयले ६ आना जग्गा उपलब्ध गराएको छ ।
‘कोठा नपुगेर आवासिय सुविधा दिन सकेका छैनौ,’ नेपाल राष्ट्रिय भूपू सैनिक संघका जिल्ला सचिव एवं बिद्यालयका संरक्षक कृष्ण प्रसाद रेग्मीले भने, ‘नयाँ भवन बनेपछि संचालनको तयारी गर्छाै ।’
हाल संघको भवनमा बिद्यालय संचालन हुदै आएको छ । ‘१२ कोठाको भवन छ, त्यसमध्य ११ कोठा बिद्यालयले प्रयोग गरेको छ,’ उनले भने । प्ले ग्रुप देखि पाँच कक्षा सम्म संचालनमा रहेको उक्त बिद्यालयमा हाल १ सय ९० बिद्यार्थी छन् ।
२०६७ सालमा बाल बिकास केन्द्रको रुपमा स्थापना भएको उक्त बिद्यालय २०७० सालबाट आवासिय बिद्यालयको रुपमा संचालन भएको रेग्मीले बताए ।