नियम लत्याउदै कालो सिसाका गाडी सरर, ट्राफिक मुकदर्शक
नियम लत्याउदै कालो सिसाका गाडी सरर, ट्राफिक मुकदर्शक
सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कुनै पनि सवारी साधनमा कालो सिसा राख्न पाइदैन । राख्नै परेमा गृह मन्त्रालयको स्वीकृती अनिवार्य छ । तर त्यही ऐनलाइ लत्याउदै विना स्वीकृती जिल्लाका सवारी साधनमा कालो सिसा राख्ने क्रम बढेको छ ।
गाडीमा कालो सिसा प्रयोग गर्नेमा जनप्रतिनिधी र पहुँचवाला रहेका छन् । गोरखा नगरपालिकाको मेयर चढ्ने सरकारी गाडीमा कालो सिसा राखिएको छ । मन्त्रालयसँग विना अनुमति आफूखुशी कालो सिसा प्रयोग गरेका मेयर राजनराज पन्त केही प्रतिशत कालो राख्न पाउने दावी गर्छन् ।
तर यातायात व्यवस्था बिभागका सूचना अधिकारी तीर्थराज खनाल गृह मन्त्रालयको स्वीकृती विना कालो सिसा प्रयोग गर्नै नपाउने बताउछन् ।
त्यस्तो पाइएमा ऐन अनुसार कारवाही हुने उनको भनाइ छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को ३९ को दफा १ बमोजिम सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई सवारीको रङ र स्वरुप परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्नु हुदैन,’ ऐनमा उल्लेख भएको बताउदै उनले भने, ‘कालो सिसा प्रयोगका लागी गृहमन्त्रालयको स्वीकृती लिनैपर्छ, आफूखुशी राखेमा कारवाही हुन्छ ।’
आफ्नो नीजि सवारीमा कालो सिसा प्रयोग गरेका शहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले आफूले मन्त्रालयसँग अनुमति नलिएको स्वीकार गर्छन् ।
‘आजभोली सबैले हाल्छन् त्यही भएर मैले पनि हालेको हुँ,’ भन्दै उनी पन्छन खोजे । जनप्रतिनिधीले नै नियम विपरित सवारीमा कालोसिसा राखेपछि त्यसको देखासिखी नीजि सवारीले गरेका छन् । अधिकांश नीजि कारमा अहिले कालो सिसा देखिन्छ ।
केही भाडाका सवारीमा पनि कालो सिसा प्रयोग भएका छन् । नियम उल्लघंन गर्दै ट्राफिक प्रहरीकै अगाडी तिनै कालो सिसा भएका गाडीहरु दिनहूँ आउजाउ गरिरहेका हुन्छन् ।
तर कारवाही गर्नुको सट्टा ट्राफिक मुकदर्शक बनेर हेरिरहेको हुन्छ । ठुलालाई चेन सानालाइ ऐन भन्ने चरितार्थ उखान ट्राफिकले गर्ने व्यवहारमा लागू भएको छ । सर्वसाधारणलाइ सामान्य गल्तीमा पनि कारवाही गर्न पछि नपर्ने ट्राफिकले नियम विपरित कालो सिसा प्रयोग गर्नेलाइ कारवाही गर्न सकेको छैन ।
‘कालो सिसा प्रयोग भएको पाइएमा हामी कारवाही गर्छाै, केही भाडाका ट्याक्सीलाइ कारवाही पनि गरिसकेका छौ,’ जिल्ला ट्राफिक इन्चार्ज सुक बहादुर बिकले भने । भाडाका ट्याक्सीमा भन्दा नीजि कारमा कालो सिसा बढि मात्रामा प्रयोग भएको छ ।
तर नीजि सवारीलाइ कारवाही गर्न ट्राफिकले सकेको छैन । कालो सिसा लगाइएका गाडी भित्र अपराधिक गतिविधि र अनेकौ धन्दा हुन सक्ने भन्दै देशभर गाडीमा कालोसिसा राख्न गृहमन्त्रालयले निषेध गरेको हो ।