समाजवादी पार्टीले सरकार छाड्यो, उपेन्द्र यादवले बुझाए राजीनामा
समाजवादी पार्टीले सरकार छाड्यो, उपेन्द्र यादवले बुझाए राजीनामा
समाजवादी पार्टीले सरकार छाडेको छ । उसका दुई मध्य उपेन्द्र यादव र मो. इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
उपप्रधान तथा कानूनमन्त्री यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेका थिए ।
त्यसको भोलिपल्ट मंगलबार समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम भट्टराई र यादवबीच कुराकानी भएको थियो भने उपलब्ध पदाधिकारीको बैठक बसेको थियो ।लगतै संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय ग¥यो र दुबै मन्त्रीले राजीनामा बुझाए ।
प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको भन्दै भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधान एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’
तत्कालीन संघीय समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन नेकपा अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले उपयुक्त समयमा संविधान संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेको थियो ।
तर नयाँ शक्ति पार्टीसँग एकता गरेर समाजवादी बनाए लगतै यादवमाथि सरकार छाड्न दबाव बढेको थियो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समाजवादीका राज्यमन्त्रीलाई हटाउनुका साथै यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानूनमा पुर्रुयाइएको थियो । त्यसबेला पनि सरकार छाड्नुपर्ने आवाज उठेको थियो ।
आज ‘रिहर्सल’, भोलि ‘ड्रामा’ !
संसदीय दलको बैठकमा सहभागी हुन सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा पुगेका समाजवादीका संघीय परिषद् अध्यक्ष भट्टराईले सरकार छाड्ने निर्णयलाई रिहर्सलको संख्या दिए । सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका उनले भने, ‘आज रिहल्सल मात्र हो, भोलि ड्रामा हुन्छ ।’
समाजादी पार्टीले आज बुधबार बिहान ११ बजे संघीय परिषदको बैठक बोलाएको छ । नेताहरुका अनुसार आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय लिनेछ । यससँगै ओली सरकार दुई तिहाई रहने छैन ।
यद्यपी मंगलबारसम्म समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकामा उक्त पार्टी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र कायम हुनेछ ।
समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधन लगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत पुग्दैन । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पु¥याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ ।
तर नेकपासँग १ सय ७४ जना सांसद छन् । समाजवादी पार्टीका १७ जना सांसद छन् । पहिले १६ जना सांसद रहेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि समाजवादी पार्टीमा १७ सांसद पुगेका हुन् ।
मंगलबारसम्म सरकारलाई सर्मथन गर्ने सांसदको संख्या १९१ जना छ । समाजवादी पार्टीको समर्थन सरकारलाई रहिरहने वा नरहने भन्नेबारे बुधबार निर्णय गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशरुंकर अरगरियाले बताए । समाजवादी पार्टीले संविधान संशोधन गर्नेलगायत दुई बुँदे सहमति गर्दै सरकारलाई समर्थन गरेको थियो ।
तर सोमबार मन्त्रि परिषद बैठकमा आफूले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सहमति तोडिएको भन्दै उक्त पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाडेका हुन् । by onlinekhabar