कालो सिसा राख्ने सवारीलाई धमाधम कारवाही
कालो सिसा राख्ने सवारीलाई धमाधम कारवाही
नियम विपरित कालो सिसा राख्ने सवारीहरु कारवाहीमा पर्न थालेका छन् ।
मंगलवार मात्रै १३ वटा सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
‘बिभिन्न ठाउँमा छड्के चेकजाँच ग¥यौ,’ ट्राफिक हवल्दार चुन बहादुर चिडीले भने, ‘भाडाको भन्दा रातो नम्वर प्लेटका सवारीमा कालो सिसा बढी प्रयोग भएको पाइयो ।’ उक्त सवारीहरुमा सिसा कालो बनाउन राखिएको प्लाष्टिक उप्काइएको उनले बताए ।
जिल्लामा करिव एक सय ५० वटा सवारीमा कालो सिसा प्रयोग भएको अनुमान ट्राफिक कार्यालयको छ ।
‘हामीले भोली सम्ममा कालो सिसा हटाउन सबैलाइ भनिसकेका छौ, नहटाए कारवाही गर्छाै,’ ट्राफिक हवल्दार चिडीले भने ।
सवारीमा कालो सिसा प्रयोग नगर्न जनप्रतिनिधीलाइ पनि भनिसकेको ट्राफिक कार्यालयले जनाएको छ ।
केही दिनमा हटाउने प्रतिवद्धता उनीहरुले व्यक्त गरेको कार्यालयको भनाइ छ । आजबाट सवारी चेकिङमा थप कडाइ गरिने चिडीले जानकारी गराए ।
चेकिङमा थप कडाइ गरी कालो सिसा प्रयोग गर्ने सवारीलाइ कारवाही गर्न निर्देशन दिइसकेको जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले बताए ।
‘गृहमन्त्रालयको अनुमती विना गाडीमा कालो सिसा राख्ने अधिकार कसैलाइ छैन,’ उनले भने, ‘कालो सिसा प्रयोग गर्ने गाडीलाइ कारवाही गर्न निर्देश गरिसकेको छु ।’
पछिल्लो समय जिल्लामा नियम विपरित गाडीमा कालो सिसा राख्ने क्रम बढ्दै गएको छ ।