निजी आवास निर्माण सम्पन्न गर्न असारसम्मको समयसीमा
निजी आवास निर्माण सम्पन्न गर्न असारसम्मको समयसीमा
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट आंशिक तथा पूर्ण रूपमा क्षति भएका निजी आवास निर्माण सम्पन्न गरिसक्न समय सीमा २०७७ असार तोकेको छ ।
प्राधिकरणका अनुसार तेस्रो किस्ताको अनुदान रकम लिइसक्ने समय पनि असार मसान्त तोकिएको छ ।
प्राधिकरणको पाँच वर्षे म्याद विसं २०७७ पुस १० गते सकिंदै छ । प्राधिकरणले भूकम्पबाट प्रभावित निजी आवासर घर निर्माणको काम सम्पन्न त्यसअघि नै पूरा गर्ने योजना थियो ।
प्राधिकरणले भूकम्प लाभग्राही कायम गर्ने तथा टुंगो लगाउने समय सीमा यही पुस मसान्त तोकेको छ भने पहिलो किस्ता माघसम्ममा, दोस्रो किस्ता वैशाखसम्ममा र तेस्रो किस्ता असार मसान्तसम्म लिइसक्नु पर्ने सीमा निर्धारण गरेको छ ।
प्राधिकरणले मंगलवार जारी गरेको सूचना अनुसार एकीकृत वस्ती, जोखीम क्षेत्र, भूमिहीन, काठमाडौं उपत्यका भित्रका लाभग्राही र छूट तथा पुनः जाँच सर्वेक्षणको लगत विश्लेषण बाट कायम हुने लाभग्राहीको हकमा यस्तो व्यवस्था गरेको हो ।
सूचनाअनुसार पहिलो र दोस्रो किस्ताको अनुदान लिइसकेका ३ लाख ९३ हजार १७८ लाभग्राहीले २०७७ असार मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने छ । त्यसमध्ये पहिलो किस्ता लिएर तेस्रो किस्ता नलिएकाको संख्या २ लाख ४४ हजार ६९३ र दोस्रो किस्ता लिएर तेस्रो किस्ता नलिएकाको संख्या १ लाख ४८ हजार ४८५ रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १० लाख ३६ हजार ५६८ घरधुरी सर्वेक्षण गरिएकोमा ७ लाख ८० हजार ८०२ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । त्यसमध्ये पहिलो किस्ताको अनुदान पाउनेको संख्या ७ लाख ६९ हजार ९२६ पुगेको छ भने दोस्रो र तेस्रो किस्ता पाउने लाभग्राहीको संख्या क्रमशः ६ लाख २१ हजार ४४१ र ५ लाख २५ हजार २३३ रहेको छ ।
प्राधिकरणका अनुसार हालसम्म ४ लाख ८२ हजार ३२३ ले निजी आवास निर्माण गरिसकेका छन् भने ६ लाख ७१ हजार ५०६ ओटा निजी आवास निर्माणाधीन अवस्था मा छन् ।
सरकारले भूकम्पपीडितका निजी आवास निर्माण गर्न पहिलो किस्तामा रू. ५० हजार, दोस्रो किस्तामा रू. १ लाख ५० हजार र तेस्रो किस्तामा रू. ५० हजार गरी रू. ३ लाख अनुदान उपलब्ध गराउँदै आएको छ ।