च्याउ खेती बिस्तार गर्दै शहिद लखन गाउँपालिका
च्याउ खेती बिस्तार गर्दै शहिद लखन गाउँपालिका
शहिद लखन गाउँपालिका ले च्याउ खेती विस्तारमा जोड दिएको छ ।
च्याउ खेतीलाई व्यवसायिकरण गर्न कृषकलाई विउ र अनुदान रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
‘च्याउको विउ वितरण गर्न यस बर्ष दुई लाख बजेट विनियोजन भएको थियो,’ गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले भने, ‘त्यही रकमले गाउँपालिकाको एक देखि नौ वडामा १९ सय पोका च्याउको बिउ वितरण गरेका हौ ।’
करिव ६ सय किसानलाइ विउ उपलध गराइएको उनले बताए ।
च्याउ खेति सम्बन्धि तालिम पनि दिइएको उनको भनाइ छ । ‘टोलटोलमा गएर च्याउ खेती कसरी गर्ने, कसरी रोप्ने, कसरी हुर्काउने र संरक्षण देखि बजार व्यवस्थापन सम्मको तालिम दिएका हौ,’ उनले भने ।
वितरण गरिएको कन्ये जातको च्याउको विउ काठमाण्डौ बाट ल्याइएको हो । एक महिनामै तयार हुने उक्त च्याउ परालको मुठामा रोपिने उनी बताउछन् ।
बीउ राख्न चार ठाउँमा डूम हाउस पनि निर्माण गरिएको रोकाले जानकारी दिए ।
गत वर्षको बजेटबाट वडा नम्बर १ बक्राङका दुई वटा कृषकलाई सेताके च्याउ खेती विस्तारका लागि एक÷एक लाख अनुदान दिएको उनले बताए । हाल बक्राङ र ताक्लुङमा कृषकहरुले करिब ६ हजार काठका मुढामा सेताके च्याउ खेती गर्दै आइरहेका छन् ।
च्याउ खेतीलाई व्यवसायीकरण गर्दै कृषक आम्दानी स्तर बढाउन च्याउको विउ वितरण गरिएको गाउँपालिका ले जनाएको छ ।