यसरी हुनेछ भ्रमण वर्षको उद्घाटन
यसरी हुनेछ भ्रमण वर्षको उद्घाटन
सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ ।
अर्थात सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमण वर्ष सचिवालयका अनुसार राजधानीमा दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति हुनेछन् ।
कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुनुपर्नेछ । मार्चपास तथा र्रुयालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो ३ बजे शुरु हुनेछ ।