सोती–गोरखा हुँदै काठमाण्डौ रात्री बस सेवा शुरु
सोती–गोरखा हुँदै काठमाण्डौ रात्री बस सेवा शुरु
आरुघाट गाउँपालिकाको सोतीबाट काठमाण्डौ सम्म रात्री वस सेवा शुरु भएको छ ।
विहीवारबाट गोरखा दरौदी यातायात कम्पनी प्रालिले सेवा शुरु गरेको हो । हरेक दिन साँझको ६ः३० बजे सोतीबाट बस छुट्ने प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए ।काठमाण्डौबाट पनि साँझ ७ बजे सोतीका लागी बस छुट्ने उनले जानकारी दिए ।
‘सोतीबजारबाट आरुघाट, वगुवा, गोरखा सदरमुकाम, आवुखैरेनी हुदै काठमाण्डौ जान्छ,’ उनले भने, ‘काठमाण्डौबाट पनि त्यही रुट हुदै आउँछ ।’ सोती देखि काठमाण्डौ सम्मको दुरी २ सय ५ किलोमिटर रहेको बताउदै अध्यक्ष श्रेष्ठले प्रति व्यक्ति ७ सय २० रुपैया भाडादर निर्धारण गरिएको बताए ।
‘डिलक्स बस भएकाले भाडा केही महँगो जस्तो देखिएको छ,’ उनले भने ।
दुवै स्थानबाट छुटेका बस बिहान ५ बजे गन्तव्यमा पुग्ने बताइएको छ । यात्रुलाइ लक्षित गरी रात्री बस सेवा शुरु गरिएको प्रालिले जनाएको छ ।
यस अघि गोरखाबाट दिउँसोको तीन बजे पछाडी काठमाण्डौ जाने सवारी भेटिदैनथ्यो ।साँझको समयमा गोरखाबाट आवँुखैरेनी सम्म कुनै सवारी नपाउँदा यात्रुहरु पनि बिचल्लीमा पर्ने गरेका छन् । ट्याक्सीमा महँगो भाडा तिरेर यात्रा गर्न यात्रुहरु बाध्य छन् । साँझ सात बजेपछि आवुखैरेनीबाट गोरखा सदरमुकाम आउने सवारी पाइदैनन् ।
साँझको समयमा सवारी चलाउन स्थानीयले पटक पटक आग्रह गरेपनि यातायात प्रालिहरुले वेवास्ता गर्दै आएका छन् ।