बुढीगण्डकीको मुआब्जामा लाभकर छुट दिने प्रस्ताव
बुढीगण्डकीको मुआब्जामा लाभकर छुट दिने प्रस्ताव
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १२ सय मेगावाटको बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितले पाउने मुआब्जा रकममा लाभकर छुट दिन प्रस्ताव गरेको छ ।
हाल बुढीगण्डकी आयोजना का प्रभावितलाई दिइएको मुआब्जामा १० प्रतिशत लाभकर लिने गरिन्छ । तर प्रभावितहरुले त्यसको विरोध गर्दै आएका छन् । शुक्रबार राष्टियसभा अन्तर्गततको राष्ट्रिय सरोकार समितिमा ऊर्जामन्त्री वर्षमान पुनले लाभकर छुटका लागि अर्थमन्त्रालयमा प्रस्ताव पठाइएको बताए । प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाए मन्त्रिपरिषदमार्फत निर्णय हुनेछ ।
त्यसपछि नयाँ मुआब्जा बुझ्नेले मात्रै होइन, यसअघि मुआब्जा बुझिसकेकाले पनि लाभकर बापत तिरेको रकम फिर्ता पाउनेछन् ।
मुआब्जा वितरणमा भएको ढिलाइप्रति प्रधानमन्त्रीले पनि चासो व्यक्त गरेको भन्दै मन्त्री पुनले बुढीगण्डकी आयोजनाका प्रभावितलाई जतिसक्दो छिटो न्यायोचित मुआब्जा वितरण गरिने बताए ।
मुआब्जाकै कारण आयोजना रोकिने अवस्था नरहेको भन्दै उनले यो वर्ष ६ हजार ४ सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसक्ने र त्यसपछि निर्माणको काम सुरु गर्ने दाबी मन्त्री पुनको छ ।
‘गोरखा र धादिङमा फरक–फरक मुआब्जा तोकियो, त्यसले समस्या ल्यायो,’ उनले भने, ‘मुआब्जाको विरोध भयो ।
हामी कानून र विधिमार्फत मर्का परेकाहरुको समस्या समाधान गर्न तयार छौं ।’ धादिङ खहरेतर्फ प्रतिआना २५ हजारदेखि १ लाख ५० हजार र गोरखाको आरुघाटमा आनाको ५० हजारदेखि ७ लाखसम्म मुआब्जा तोकिएको थियो । उर्जामन्त्री पुनले भने खर्बौं लागतको आयोजनामा केही लाख वा करोड बढी मुआब्जा तिर्नुपरेर पनि जनताको चित्त बुझाउनुपर्ने बताए ।
‘अढाई खर्बमा बन्ने आयोजनामा ८÷१० करोड बढी मुआब्जाले खासै फरक पर्दैन,’ उनले समितिमा भनेका छन, ‘बुढीगडण्डकी निर्माणमा ढिलाइ हुँदा घण्टामै करोडौं रकम बगेर जाँदैछ, सानोतिनो विषयमा अल्झिने पक्षमा हामी छैनौं ।’ मुआब्जा चित्त बुझाउनेलाई मुआब्जामार्फत र चित्त नबुझाउनेलाई पुनर्वासको माध्यमबाट समस्या समाधान गरिने ऊर्जामन्त्री पुनले बताए । पुनर्बासका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भइरहेको उनले बताए ।
उनकाअनुसार बजार क्षेत्रमा २ आना भन्दा कम जग्गामा घर भएकाहरुलाई अर्को शहरमा कम्तीमा पनि ४ आना जग्गा उपलब्ध गराउने पुनर्वास योजना बनेको छ । बैठकमा सांसदहरुले मुआब्जा निर्धारण र वितरणका लागि मापदण्ड नै आवश्यक भएको धारणा राखेका छन् । आयोजना निर्माणमा ढिलाइ भइरहेको भन्दै सांसदहरुले विवाद छिटो समाधान गर्न सुझाव दिए ।
जनताको कुरा नसुनी विकास आयोजना सञ्चालन गर्न नसकिने भन्दै उनीहरुले जनताको मागलाई ध्यान दिएर उचित सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।
आयोजनाका कारण धादिङ र गोरखाका १३ हजार ६ सय ६२ घरपरिवार विस्तापित हुने देखिएको छ । उनीहरुको ४५ हजार २ सय ४ रोपनी जग्गाका लागि २७ अर्ब १८ करोड मुआब्जा वितरण हुँदैछ । डुवान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा वितरण भइसके पनि बजार क्षेत्रको मुआब्जा हालै तोकिएको छ ।