नौ स्थानीय तहमा नमूना कृषि गाउँ कार्यक्रम
नौ स्थानीय तहमा नमूना कृषि गाउँ कार्यक्रम
चालु आर्थिक बर्ष जिल्लाका थप पाँच स्थानीय तहमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू हुने भएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत कार्यक्रम लागू हुन लागेको हो । गत आवबाट चार वटा स्थानीय तहमा यो कार्यक्रम लागू हुदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘गत बर्षबाट गण्डकी, भिमसेन थापा र बारपाक सुलिकोट गाउँपालिका सँगै पालुङटार नगरपालिकामा यो कार्यक्रम लागू भइसक्यो,’ केन्द्र प्रमुख मनिता थापाले भनिन्, ‘यो गोरखा नगरपालिका सँगै आरुघाट, शहिद लखन, अजिरकोट र धार्चे गाउँपालिकामा कार्यक्रम लागू हुन्छ ।’ शहिद लखन गाउँपालिकाको मास्कीछाप, गुरदुङ, काउले र भ्याकुरमा यो कार्यक्रम लागू हुने उनले बताइन् ।
‘गोरखा नगरपालिका वडा नम्वर १२ को कुन्दुर, खत्रीगाउँ, बराहगाउँ, देउराली र धार्चे गाउँपालिकाको लापुवेशीमा यो कार्यक्रम लागू हुन्छ,’ उनले भनिन् । आरुघाट गाउँपालिकाको आरुआरवाङ र अजिरकोट गाउँपालिकाको दरौतीमा पनि यो कार्यक्रम लागू हुनेछ ।
कार्यक्रम लागू गर्नका लागी प्रदेशले आवश्यक कर्मचारी र रकम स्थानीय तहमै पठाउने कार्यालयले जनाएको छ । गत बर्ष कार्यक्रम लागू भएको प्रत्यक स्थानीय तहलाइ २५ लाखक दरले रकम विनियोजन भएको थियो ।
उक्त रकमले प्राङगारीक खेती विस्तार, तरकारी खेती, मौरी घार, गोठ सुधार, बाख्राखोर निर्माण, सिँचाइका लागि पानी पोखरी निर्माण र भकारो सुधार लगायतका कार्यहरु गरिएको सम्बन्धित स्थानीय तहका खटिएको प्राविधिहरुले बताएका छन् । चालु आवका लागी बजेट भने आइनसकेको उनीहरुले जानकारी गराए ।
कार्यक्रम लागू भएका र हुन बाकी स्थानीय तहमा पाँच जना प्राविधिक खटिएका छन् । एक प्राविधिकले दुई स्थानीय तह हेर्ने गरी व्यवस्था मिलाइएको छ ।
नमूना गाउँ घोषण गर्नका लागि एकै ठाउँमा धेरै घरधुरी हुनुपर्ने, आयस्तरमा न्यून रहेको, र पिछडिएको जाती समूहको हुनपर्ने व्यवस्था रहेको केन्द्रका प्रमुख थापाले बताइन् । ग्रामीण कृषक समुदायको दिगो खाद्य सुरक्षा सुनिश्चित गर्दै कृषि क्षेत्रको बिकास गर्ने उद्देश्यले नमूना कृषि गाउँ कार्यक्रम ल्याइएको बताइएको छ ।