पदीय प्रभावमा हुने शारीरिक सम्बन्ध यौन शोषण मानिने सर्वोच्चको फैसला
पदीय प्रभावमा हुने शारीरिक सम्बन्ध यौन शोषण मानिने सर्वोच्चको फैसला
सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारिरीक सम्बन्ध’ यौनशोषण हुने ठहर गरेको छ ।
नेपाली सेनाका एक अधिकृत र कुचिकारको मुद्दाको सर्वोच्चले गरेको फैसलामा पदिय हैसियत र प्रभावमा हुने शारिरिक सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रुपमा हेरिनुपर्ने भनिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठमा भनिएको छ ः अनुचित प्रभाव मार्फत लिइएको सहमति प्रपञ्चकै स्वरुप मान्नुपर्छ ।
यस्तोमा स्वतन्त्र मनको प्रयोग गरी जानेर वा बुझेर दिइएको सहमति मान्न सकिँदैन । यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रुपमा हेरिनुपर्छ ।
फैसलामा आफ्नो प्रदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहको महिला सैनिकसँग यौन सम्बन्ध राख्नका निम्ति लिएको सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने उल्लेख गरिएको छ ।
नेपाली सेनाको चण्डीदल गणका सहसेनानी (क्याप्टेन) भुपेन्द्र खड्काले सोही गणमा कार्यरत सुनुवार थरकी सैनिकसँग बारम्बार यौन सम्बन्ध राखेको र विवाहित महिला सैनिक गर्भवति भएपछि उनलाई गर्भपतनका लागि भारत लैजाने क्रममा २०६९ साल असोज ३० मा नागढुंगाबाट पक्राउ गरिएको थियो ।
प्रहरीले सैनिक प्रहरी गणलाई बुझाएपछि सैनिक अदालतबाट अनुसन्धान र छानविनपश्चात उनीहरु दुईजनाबीच आफ्नो कर्तव्य र जिम्मेवारीप्रति वेवास्तारत रही पटकपटक अनैतिक सम्बन्ध राखी कुचिकार पदकी सैनिक गर्भवती भएको ठहर गरेको थियो ।