बजारमा पाइने तरकारीमा बिषादीको मात्रा बढी
बजारमा पाइने तरकारीमा बिषादीको मात्रा बढी
केशव गुरुङ
जिल्ला सदरमुकामका पसलमा बिक्री वितरण हुने तरकारीमा बिषादीको मात्रा बढी भेटिएको छ ।
गालेभेडा, च्याउ र जुकुनी फर्सीमा बिषादीको मात्रा बढि पाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सदरमुकामको बिभिन्न पसलबाट दश थरिका तरकारीको नमूना परिक्षणका लागी द्रुत विषादी परिक्षण प्रयोगशाला आँवुखैरेनी पठाइएको थियो ।
‘गोलभेडा, भेडे खुर्सानी, च्याउ, काक्रो, केरा, काउली, भन्टा, आलु, सिमि र जुकुनी फर्सीमा बिषादीको मात्रा परिक्षण गर्न पठाएका थियौ,’ केन्द्रकी प्रमुख मनिता थापाले भनिन्, ‘अन्य तरकारीमा कम बिषादी भेटिएपनि गोलभेडा, च्याउ र जुकुनी फर्सिमा भने बिषादीको मात्रा बढी भेटियो ।’
सदरमुकामको शक्तिचोक, नयाँबजार, आयुर्वेदिक चोक र अस्पतालमार्गका पसलमा राखिएका तरकारीको नमूना परिक्षण गरिएको उनले बताइन् । साधारणतया तरकारी तथा फलफूलमा विषादी अवशेषको मात्रा ३५५ भन्दा कम भएमा खान योग्य मानिन्छ ।
त्यसैगरी ३५५ देखि ४५५ को मात्रा भएमा केही दिन पर्खेर खान मिल्ने र सो मात्रा ४५५ भन्दा माथी पाइएमा खान अयोग्य मानिन्छ । गोलभेडा, च्याउ र जुकुनी फर्सीमा बिषादी अवशेषको मात्रा ३५५ देखि ४५५ भेटिएको बताउदै थापाले भनिन्, ‘केही दिन राखेर त्यसलाइ प्रयोग गर्न त मिल्छ, तर सकेसम्म नखाएको राम्रो ।
हामीले चेकजाँचमा कडाइ गर्न आँवुखेरैनीलाइ आग्रह गरिसकेका छौ ।’
गोलभेडा र जुकुनी फर्सी नारायणगढ बाट आउने र च्याउ बजार आसपास उत्पादन हुने व्यवसायी बताउछन् ।